रामपुरमा नयाँ वर्ष र रमजानको अवसरमा शुभकामनासहित वृहत् ईफ्तार कार्यक्रम

रामपुर (पाल्पा) । नयाँ वर्ष २०८१ र इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फितरको अवसरमा शुभकामना आदानप्रदान तथा वृहत् ईफ्तार कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । धार्मिक सहिष्णुता र सद्भावका लागि रामपुरमै पहिलो पटक स्थानीय निकायबाट रमजानको अवसरमा कार्यक्रम भएको हो ।

रामपुर नगरपालिका वडा नं. ४ को आयोजनामा इस्लाम धर्मावलम्बीहरुको सहभागीतामा सामुहिक ईफ्तार कार्यक्रम गरिएको हो । रामपुर नगरपालिका वडा नं.४ का वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले जुनसुकै धर्ममा आस्था राखेपनि सबै एक अर्काको परिपुरक भएको बताउँदै कुनै एउटा धर्म र समुदायले मात्र विकास र समृद्धि सम्भव नभएको भन्दै सबैको एकता र समन्वयले मात्र सबै क्षेत्रको विकास हुने उल्लेख गरिन् ।

कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रीय उपसभापति हजिल दिन मियाँले मुस्लिम समुदायको रमजान र नयाँ बर्षको अवसरमा वडाको आयोजनामा भएको कार्यक्रमले एकताको सन्देश दिएको बताएका छन् । साथै यो कार्यक्रमले समग्र मुस्लिम समुदायले सम्मानको अनुभूति गरेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन् ।

jutta mela

रम्भा गाउँपालिका वडा नं.१ का वडाध्यक्ष इश्वर काफ्लेले फरक धर्म र समुदाय फरक भए पनि कर्म सबैको एउटै हुने भन्दै सबै समुदायको सम्मान गर्न आवश्यक रहेको बताएका छन् । रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले धर्म र संस्कार फरक भएपनि राष्ट्रिय एकता र आवश्यकतामा एक हुनुपर्ने बताउँछन् ।

रामपुर ४ देविस्थान पाल्पामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकाल ,नेपाली काँग्रेस पाल्पाका सहसचिव हमिद अलिमियाँ, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका सदस्य टेकबहादुर क्षेत्री, रामपुर उद्योग वाणिज्य संघका महासचिव खिमबहादुर क्षेत्री, समाजसेवी विष्णुप्रसाद आचार्य, ईस्रात मियाँ, लुकबहादुर विरकट्टा, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मनिराज अधिकारी, रानिवन तथा बडभान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सीता प्रधान, गोदाम चौपारी टोल विकास समितिका संयोजक मोहनबहादुर थापाले बोल्दै नयाँ वर्ष र रमजानको अवसरमा शुभकामना दिएका छन् ।

रामपुर नगरपालिका वडा नं .४ का सदस्य महम्मद ताजिम शेखको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा सदस्य मोहन सिं रानाले गरेका हुन् ।

You might also like

Comments are closed.