चित्रकलाको माध्यमबाट सुन्दरता अभिवृद्धि गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम सुरु गरेको छ ।

ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कामपाले सार्वजनिक स्थानका पर्खालमा कलात्मक चित्र लेखनको काम थालेको हो । उक्त कार्यका लागि कामपा र प्रतिष्ठानबीच २०८० फागुन १७ गते सम्झौता भएको थियो ।

सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित सङ्घसंस्थाको छनोट प्रतिष्ठान आफैँले गरेको हो । अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने काम भइरहेको छ ।

jutta mela

यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्तो, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर, मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ता चित्र कोरिने कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

उनका अनुसार चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा वेशभूषा विम्बित हुने चित्र कोरिनेछन् ।

मौलिकताका लागि कोरिने चित्रहरूमा इन्द्रजात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, वेशभूषा, बादन, काठमाडौँ चिनिने भौतिक सम्पदा हुने उनले बताइन् । यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ ।

चित्र भएका भित्तामा नछुने, कुनै रङ नछर्किने, पोष्टर वा कागज नटाँस्ने, चित्रसँग तस्वीर खिच्दा नटाँसिइ अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट अपेक्षा गरेको उनले बताइन् ।

यसरी कोरिएका चित्रसँग सम्बन्धित जीवन्त संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महानगरपालिकाले काम गरिरहेको छ । यी चित्रले काठमाडौंलाई चिनाउँछन् । यसले काठमाडौंका सम्पदाको भव्यता प्रदर्शन गर्ने कामपाको विश्वास छ । रासस

You might also like

Comments are closed.