साढे ३० लाखको आलु बिक्री गर्दै सकियो महोत्सव

कास्की । आलु गाउँका रूपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ ।

गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म रु ३० लाख ६५ हजार ७२० को आलु बिक्री गर्दै सम्पन्न भएको । महोत्सवस्थलबाट कुल ७६ हजार ६४३ किलो आलु बिक्री भएको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए ।

महोत्सवस्थलमा आलु बिक्रीका लागि पहाड निर्माण गरिएको थियो । प्रतिकिलो रु ४० का दरले आलु बिक्री गरिएको थियो । कुल ३४ सय ४५ घरपरिवारले आलु खरिद गरी लगेको तिमिल्सिनाले बताएका छन् ।

jutta mela

कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङ्जा, चितवन, बुटबल, बागलुङ, तनहुँलगायत काठमाडौंबाट समेत मानिसहरू आलु खरिद गर्न आएको बताइन्छ । प्रतिघरपरिवारले न्यूनतम पाँच किलोदेखि अधिकतम तीन सय किलो आलु खरिद गरेका हुन् । हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वस्थकर मानिने भएकाले उपभोक्ताको आकर्षण बढ्ने गर्दछ ।

यसैगरी महोत्सवभर आलुलगायत अन्य सामग्रीसमेत गरी रु ३ करोड ७० लाखको कारोबार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव समापनका अवसरमा अग्रज कृषकलाई सम्मान गरिएको छ ।

आलुको प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बानियाँ, हरिमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सिनालाई नगदसहित सम्मान गरिएको हो ।

महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनीलगायत रहेका थिए ।

‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव गरिएको हो । कास्कीमा १२ सय ५३ हेक्टर जमिनमा आलुखेती गरिन्छ । त्यसबाट वार्षिक २१ हजार ५१० टन उत्पादन हुँदा हेमजामा ५ सय हेक्टर क्षेत्रफल जनिमा आलुखेती गर्ने गरिएकामा ५ हजार टन उत्पादन हुने गरेको छ ।

हेमजामा एमएस २२, जनकदेव, खुमलटार रातोलगायतका आलुखेती गरिन्छ । यहाँका ५४० घरपरिवार किसान व्यावसायिक रूपमा आलुखेतीमा आबद्ध छन् । रासस

You might also like

Comments are closed.