तनहुँमा ७ दशमलव ५ किलोमिटर सडक कालोपत्र

तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा ७ दशमलव ५ किलोमिटर सडक कालोपत्र भएको छ ।

जिल्लामा सूचीकृत भएका योजनाअन्तर्गत चालु आवको ९ महिनाको अवधिमा उक्त सडक कालोपत्र गरिएको हो । यस वर्ष पिसिसी, आरसिसी र कालोपत्र गरी २६ किमी सडक निर्माण गर्ने लक्ष्य रहेको जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख कृष्ण आचार्यका अनुसार कच्ची सडक १५ किलोमिटर निर्माण गर्ने लक्ष्यअनुरुप हालसम्म ४ किमी र २५ हजार घनमिटरको टेवा पर्खालमध्ये १७ सय घनमिटर पर्खाल निर्माण सम्पन्न भएको छ । ग्राभेल सडक २५ किमी बनाउने लक्ष्यअनुरुप काम भएको, ६ किमी, सडक चौडा भएको छ ।

jutta mela

त्यसैगरी कजवे, कल्र्भट निर्माणतर्फ १० योजना सम्पन्न गर्ने लक्ष्य छ । त्यसैगरी झोलुङ्गे पुल ३ र सहरी भवन ४ वटा निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख आचार्यले बताए ।

११ किमी कालोपत्र गरिँदै

त्यसैगरी, गण्डकी प्रदेशको गौरव आयोजना मानिएको मानपुर–डेडगाउँ–बुलिङटार सडकखण्डको ११ किलोमिटर कालोपत्र गर्न सुरु गरिएको छ । अब जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरदेखि डेढगाउँको सिमानासम्म कालोपत्र हुनेछ ।

“अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिएको छ”, उनले भने, “सडकको चौडाइ ७ मिटरको हुनेछ भने सडकमा ५ मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिने छ,” कार्यालय प्रमुख आचार्यले भने ।

विसं २०५१ मा उक्त सडकको ट्रयाक खुलेको थियो । विसं २०७७ मङ्सिर ५ गतेदेखि त्यस सडकखण्डमा स्तरोन्नतिका काम थालिएको थियो । ३५ करोड १४ लाख ७४ हजार १०९ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार ३१६ मा कालोपत्रको ठेक्का पाएको थियो । रासस

You might also like

Comments are closed.