मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब ९ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो । तर अहिलेसम्म विज्ञको अभावमा मर्मत हुन नसकेको विभागले जनाएको छ ।

विभागका अनुसार हाल नेपालमा तीन स्थानमा मौसमसम्बन्धी जानकारी दिने राडार छन् । सोहीमध्येको सुर्खेतको राडार बिग्रिएपछि हाल बाँकी दुई वटामात्रै सञ्चालनमा छन् । विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले उक्त राडार मर्मतका लागि बोलपत्र आह्वान भएपनि विज्ञ अहिलेसम्म भेटिएको छैन ।

“पहिले एकपटक बोलपत्र आह्वान गरेका थियौँ तर त्यो समयमा कसैको आवेदन परेन, अहिले फेरि बोलपत्र खुलाउने तयारी छ”, उनले भने । उनका अनुसार नेपाली विज्ञले मर्मत गर्न नसकेपछि विदेशी विज्ञको खोजी भइरहेको छ ।

jutta mela

यसपटक केही सर्तहरु परिवर्तन गरे बोलपत्र आह्वानको तयारी भइरहेको छ । सो राडार मर्मत गर्न रु १९ करोड लाग्ने अनुमान गरिएको छ । राडार मर्मतका लागि छनोट भएको विज्ञ समूहले कम्तीमा पनि साढे दुई वर्षसम्मको जिम्मा लिनुपर्ने हुन्छ । यी राडारले दुई सय किलोमिटरमाथिसम्मको हावाको गति थाहा पाउने र पानी पर्छ कि पर्दैन ? भन्ने पूर्वानुमान गर्न सहज हुनुका साथै वायुमण्डलको हावामा हिउँको मात्रा थाहा पाउन सहज हुन्छ ।

त्यतिमात्रै होइन, चट्याङ पूर्वानुमान गर्न सहज गर्ने माध्यम ‘लाइटिङ नेटवर्क स्टेसन’ पनि बिग्रिएको अवस्थामा छ । सो मर्मतका लागि विदेशी विज्ञकै आवश्यकता पर्नेछ । कर्माचार्यका अनुसार हाल नेपालमा यस्ता स्टेसन ९ वटा छन् । “यी स्टेसनले २० मिनेटअघि कुन स्थानमा चट्याङ पर्दैछ भन्ने कुरा जानकारी दिन सहयोग पुग्नेछ । साथै चट्याङसम्बन्धी पूर्वसूचना प्रवाह गरेर जनताको जीउ धनको सुरक्षा गर्न सहयोग पुग्ने हुन्छ”, उनले भने, “तर यसको पनि एकीकृत प्रणालीमा समस्या आएपछि अहिले यो प्रणाली पनि नचलेको अवस्थामा छन् । जसले गर्दा हाल नेपालको आफ्नै चट्याङ्का घटना पूर्वानुमान गर्ने यन्त्र नै सञ्चालनमा छैन ।”

सो स्टेसन मर्मत गर्नका लागि पनि विदेशी विज्ञबिना सम्भव नहुने भए नहुने उनको भनाइ छ । यसका लागि रु दुई करोड लाग्ने कर्माचार्यको अनुमान छ । स्वदेशी स्टेसन सञ्चालन नभएपछि हामी यसका लागि छिमेकी मुलुकको सहयोग लिनुपर्ने अवस्थामा रहेको उनले सुनाए ।

“नेपालमा चट्याङको अवस्था थाहा पाउनका लागि हामीले ‘साउथ एसियन लाइटिङ नेटवर्कसँग’ समन्वय गरिरहेका छौँ । यस नेटवर्कमा नेपालकोतर्फबाट श्रीराम शर्मा छन् । भारतीय मौसम विज्ञान विभाग र स्याटालाइटको सहायताबाट हाल चट्याङको जानकारी लिइरहेका छौँ”, उनले भने, “हाम्रो प्रणाली सुधार नहुञ्जेल यसैगरी चट्याङ्सम्बन्धी पूर्वानुमान गर्नेछौँ । तर जतिसक्दो छिटो हामी प्रणाली सुधारमा लागिरहेका छौँ ।”

त्यतिमात्रै होइन मौसमी बेलुनमा समस्या देखिएको पनि धेरै भइसकेको छ । जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त सहकार्यमा विसं २०७५ असार ६ गतेदेखि कीर्तिपुरबाट मौसमी बेलुन उडाइएको थियो । त्यसदिनदेखि नियमितरुपमा बिहान ५ः३० बजे यस्ता बेलुनहरु सोही स्थानबाट उडाइने विभागले प्रतिबद्धता जनाएको थियो ।

विश्व मौसम सङ्गठनका अनुसार मौसम तथ्याङ्क लिन दिनमा दुई पटक मौसमी बेलुन उडाउनुपर्ने हुन्छ । तर बजेट अभाव कारणले दिनमा एकपटक उठाउँदै आइएको मौसमी बेलुन हाल दैनिक एकपटक पनि उडाउन सकिएको छैन । एकपटक बेलुन उडाउँदा दैनिक रु ५० हजारका दरले मासिक १५ लाख लागत लाग्छ । दुई पटक उडाएमा मासिक रु ३० लाख खर्च हुन्छ । बेलुनलगायतका आवश्यक सामग्री किन्न दैनिक ५० हजार खर्च हुन्छ । किनभने एकपटक उठाइसकेको बेलुन काम लाग्दैन ।

उक्त बेलुन जमिनभभन्दा २० किलोमिटरमाथिसम्म पुग्छ । हाइड्रोजन ग्यास भरिएका यस्ता बेलुनमाथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्छन् । बेलुनमा जडित ‘सेन्सर’ले नियमित रूपमा मौसमी तथ्याङ्क पठाउने गर्दछ । बेलुन झर्दा त्यसमा झुण्डाइएको प्यारासुटका माध्यमबाट बिस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ ।

माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुनेछ । यसो गर्दा वायुमण्डलको आग्रता, वायुको गति, दिशा थाहा हुँदा मौसम पूर्वानुमानमा सहयोग पुग्ने बताइएको छ । वित्त स्रोतको अभावका कारण निरन्तर रुपमा बेलुन उडाउन असहज भएको र अब यसलाई निरन्तरता दिने तयारी भइरहेको छ ।

“हाल बेलुन सकिएकाले उडाउन सकिएको थिएन”, कर्माचार्यले भने, “आगामी जेठभित्र फेरि बेलुन उठाउने गरी तयारी अगाडि बढाएका छौँ । यो सञ्चालन नहुँदा माथिल्लोस्तरको वायुमण्डलको अवस्था थाहा नहुने र मौसम पूर्वानुमान गर्नसक्ने क्षमतामा ह्रास आउँछ ।”

उक्त बेलुन धनगढीमा पनि राख्नेगरी छलफल अगाडि बढिरहेको उनले जानकारी दिए । यस विषयमा विश्व मौसम सङ्गठनसँग छलफल भइरहेको छ । विश्वको जलवायुको अस्था थाहा पाउन नेपालको पनि तथ्याङ्क उत्तिकै महत्वपूर्ण हुन्छ । जनशक्तिको अभावमा यस्ता मनसुनजन्य विपत्तिको पूर्वसूचना प्रभावकारी रुपमा दिन सकिरहेका छैनौँ । यसकारण हामीले दरबन्दी संरचना पनि परिवर्तन गरेर अगाडि बढ्ने योजना बनाएको छ ।
हिम स्वचालित केन्द्रको पनि विकास गर्ने योजना छ । यसले हिमालको तापक्रमको अवस्था थाहा पाउन सहयोग गर्नेछ । उच्च हिमाली क्षेत्रमा २० वटा स्थानमा केन्द्र स्थापना गर्न जरुरी छ । दुई स्थानमा जडान भइरहेको अवस्था छ ।

कर्माचार्यका अनुसार एउटा उपकरण जडानका लागि करिब रु ११ करोड खर्च हुन्छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा पर्दै गइरहेको अवस्थामा यो थाहा पाउन हिम स्वचालित केन्द्र स्थापना गर्न आवश्यक रहेको जलवायुविद् तथा युएनडिपी नेपालका जलवायु विश्लेषक दीपक केसी बताउँछन् ।

“मौसमजन्य घटनाका पूर्वानुमान गर्ने स्टेसन पर्याप्त छैनन्, खासगरी उच्च हिमाली क्षेत्रमा धेरै कम छन्”, उनले भने, “उच्च हिमाली भेगमा यस्ता स्टेसन जरुरी छन् । नेपालको जलवायुको मुद्दालाई पर्वतीय क्षेत्रसँग जोडेर बहस चलिरहँदा वैज्ञानिक प्रमाण अन्तर्राष्ट्रिय मञ्चमा पेस गर्नका लागि पनि हिमाली क्षेत्रमा मौसमी राडार जडान जरुरी छ ।”

अब आगामी एक सातासम्मको मौसम पूर्वानुमान गर्ने पनि तयारी भइरहेको छ । हाल तीन दिनसम्मको मात्रै पूर्वानुमान हुने गरेकामा त्यसलाई बढाएर सात दिन पु¥याउने तयारी भइरहेको छ । हामीले विश्वव्यापी मोडलअनुसार अगाडि बढ्नुपर्ने भएकाले, प्राविधिक र वित्तीय स्रोतको अभाव भएकाले क्षेत्रीयस्तरमा सहकार्य गरेर अगाडि बढ्ने सोच बनाएको छ ।

आवश्यकताअनुसारको वित्तीय स्रोतको अभावका कारण नयाँ प्रणालीहरुको विकास हुन सकेको छैन । मौसम पूर्वानुमानका लागि अन्य विकसित प्रणालीको उपयोग गर्ने विषयमा पनि छलफल चलिरहेको छ । विगतमा बाढीको पूर्वसूचना दिने गरिए पनि अन्य विपत्जन्य घटनाको पूर्वसूचना दिन नसकिएको भन्दै आगामी दिनमा त्यसको पनि तयारी भइरहेको छ ।

विषेशगरी हामीले बाढीसम्बन्धी मात्रै पूर्वसूचना उपलब्ध गराउँदै आएको जनाइएको छ । अबदेखि पहिरो, हिमपहिरोको, लु, वन डडेलो, हावाहुरी, भारी वर्षा, चट्याङ, शीतलहरलगायतका १२ किसिमका विपद्को पूर्वानुमान गरी एसएमएसमार्फत सन्देश प्रवाहको तयारी भइरहेको छ । टेलिकम कम्पनी एनसेलले विभागसँगको सहकार्यमा सन् २०१६ देखि बाढीको पूर्वसूचना प्रवाह गर्न निःशुल्क एसएमएस सेवा दिँदै आएको छ ।

यसअघि एनसेलसँग मात्रै यसप्रकारको सम्झौता भएकामा अब नेपाल टेलिकमसँग पनि सोसम्बन्धी सम्झौताको तयारी भइरहेको छ । पूर्वसूचना प्रवाहकै कारण मनसुनजन्य विपद्बाट हजारौँ मानिसको ज्यान जोगिएको छ, आर्थिक क्षति पनि कम भएको छ । पूर्वसूचना अझ प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाउँदै लैजानेछ ।

मौसममा आधारित जोखिमबाट हुने धनजनको क्षति कम गराउन पूर्वसूचना प्रणाली तथा प्रवाहका लागि तीनवटै तहका सरकार, विभिन्न सरोकारवाला निकायबीच सहकार्य गरी अगाडि बढ्न आवश्यक छ । हाल नेपामला बाढीसम्बन्धी पूर्वसूचनाका लागि १९ वटा प्रणाली र १७० स्टेसन छन् । ‘रियल टाइम’ मौसम मापन गर्ने स्टेसन भने २९० रहेको छ ।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले पूर्वसचना प्रणालीलाई भरपर्दो र विश्वसनीय तथा थप प्रभावकारी बनाउनसकेमा मनसुनजन्य घटनाबाट बर्सेनि हुने क्षति कम गर्न सहयोग पुग्ने बताउँछन् ।

“अहिले उपलब्ध पूर्वसूचनाका प्रणाली पर्याप्त छैनन् । अब पूर्वसूचना प्रणालीमा राज्यको लगानी बढाउन आवश्यक छ”, उनले भने, “२८ घण्टाअघि नै पूर्वसूचना दिनसकेमा विपद्बाट हुनसक्ने क्षति ४० प्रतिशतसम्म कम गर्न सहयोग पुग्छ । सूचना प्रवाह ढिलो हुँदा सुरक्षित रहन तयारी अभाव हुनाले समयमै सूचना उपलब्ध जरुरी छ ।” रासस

You might also like

Comments are closed.