भरतपुर अस्पतालमा रेविज विरुद्ध लगाइने खोपको चरम अभाव

नारायणगढ (चितवन) । भरतपुर अस्पतालमा रेविज विरुद्धको खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । भरतपुर महानगरपालिका–१२ थानीचोकका विनोद लामा आइतवार ११ वर्षीय छोरीलाई कुकुरले टोकेर रेविज विरुद्धको खोप लगाउन अस्पताल पुुगे ।

अस्पतालमा पुुग्दा कर्मचारीहरुले खोपको अभाव भएको जानकारी गराएपछि निरास हुँदै उनी छोरीलाई लिएर बाहिर निस्किए । “अस्पतालमा खोप छैन भन्ने कस्तो कुरा, यहाँ नभए कहाँ पाउँछ”उनले भने, “बाहिरबाट किनेर ल्याउनु भन्छन्, किन्दा महँगो पर्छ रे । पाउने ठाउँ पनि थाहा छैन” उनले भने ।

आफन्तको घरमा निम्ता मान्न धादिङ जाँदा भरतपुरकै सञ्जय गुरुङलाई कुकुरले टोक्यो । उनले त्यही एक मात्रा (डोज) खोप लगाए । घरमा आएपछि अर्को डोज लगाउन भरतपुर अस्पतालको खोप केन्द्रमा पहिले डोज लगाएको प्रमाण पुर्जा देखाउँदै गर्दा उनले खोप लगाउन पाएनन् । उनलाई अस्पतालका कर्मचारीले खोप छैन भन्दा पत्यार लागेन । उनीसँगै आएका अन्य बिरामीले भनेपछि बल्ल विश्वास गरे । “सरकारी अस्पतालमा नपाउने खोप कस्तो खोप हो । हामीले कहाँबाट ल्याउने” उनले भने ।

jutta mela

भरतपुर –६ का भरत गुरुङ पनि कुकुर टोकेर रेविज विरुद्धको खोप लगाउन अस्पताल आउँदा बाहिरबाट खोप किनेर ल्याउनु परेको बताउँछन् । “एक भाइलमा दुई डोज हुन्छ रे । हामी दुई जना बिरामी मिलेर किनेर लगाउन थालेका हौँ” उनले भने । एक भाइललाई बाहिर किन्दा रु ६२५ तिर्नुपर्ने तर अस्पतालमा तीन डोज लगाउँदा मात्र रु तीन सय पर्ने गरेको जनाउँदै उनले रेविज विरुद्धको खोप अभावले सेवाग्राही महँगोमा परेको बताउँछन् ।

यी त भरतपुर अस्पतालमा रेविज विरुद्धको खोप लगाउन आउने सेवाग्राहीको गुनासोका प्रतिनिधि पात्र मात्रै हुन् । यस्तै गुनासो लिएर गत चैत २० गतेदेखि अस्पतालबाट बाहिरने बिरामीको सङ्ख्या उत्तिकै छ । अहिले दैनिक दुई सयभन्दा बढी बिरामी रेविजको खोप लगाउन अस्पताल आउने गर्दछन् ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापाकोटाका अनुसार अहिले अस्पतालमा रेविजको खोप चरम अभाव भएको छ । “अभाव चैत २० गतेदेखि सुरु भएको हो । शुक्रबारबाट त व्यवस्थापन गर्नै सकिएन । हामी शून्य मौज्जाद (स्टक)मा छौँ” उनले भने । अस्पतालले बारम्बार प्रदेश र सङ्घीय मन्त्रालयका आपूर्ति व्यवस्थापन शाखामा पत्राचार गर्दा प्रयाप्त मात्रामा खोप पाउन नसकेको उनले गुनासो गरे ।

पहिला दैनिक ६० देखि ७० भाइल खोपले प्रयाप्त हुनेमा अहिले बिरामीको चाप बढेसँगै खोपको अभाव भएको हो । उनका अनुसार यहाँ अहिले चितवनसहित, नवलपुर, धादिङ गोरखा, तनहुँ, मकवानपुरसहितका छिमेकी जिल्लाबाट खोप लगाउन बिरामी आउने गरेका छन् । अस्पतालले आपूर्ति शाखामा पत्राचार गर्दा खोप आउन अझै दुई साता लाग्ने जानकारी पाएको प्रवक्ता सापकोटाले बताए । बिरामीलाई हामिले दिने जवाफ केही नभएको उनी बताउँछन् ।

अस्पतालका स्टोर शाखा प्रमुख प्रदीप अधिकारीले केही समय आफूहरुले मागेकोभन्दा कम मात्रामा खोप पाएको भएपनि अहिले पाउन कठिन हुँदा बिरामीलाई बाहिर किन्न लगाउनु परेको बताए । “हामीले एक हजार भाइल माग गरेर प्रदेश पठाउँदा प्रदेशबाट जम्मा ८० भाइल पायौँ । यस्तै सङ्घमा पनि पठाउँदा २५० भाइल मात्रै पठायो” उनले भने । यी खोपले दुई दिन चलाउन कठिन भएको उनको गुनासो थियो । रासस

You might also like

Comments are closed.