दाङका स्थानीय बगरखेतीबाटै मनग्य आम्दानी गर्दै

नारायणी रजौरे

दाङ । राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुन सकेको थिएन । तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा यतिखेर हेर्दा खरवुजा र तरकारी खेती लटरम्म छ । यही खेतीबाट स्थानीय किसानले अहिले मनग्य आम्दानी गर्न थालेका हुन् । यसरी आम्दानी गर्नेमध्ये एक हुन्, लमही नगरपालिका –४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी ।

चौधरीले करिब दुई विघा बगरमा खरवुजा र केही जमिनमा भन्टा, लौका, करेला, वोडीलगायत बेमौसमी तरकारी खेती गरिरहेकीछिन् । २० वर्षअघि राप्ती नदीको बाढीले उठिबास भएकी चौधरी सोही स्थानमा बगरखेती गरेर परिवारको गर्जो टारिरहेको बताउँछिन् । त्यस समय यही बगरले उठिबास पारेको थियो, अहिले भने उनी खुसीछिन् ।

jutta mela

“२० वर्षअघि राप्ती नदीको बाढीले घरबार, अन्नपात, गाईवस्तु बगाएर बिचल्लीमा पारेको थियो । अहिले भने त्यही ठाउँमा बगरखेती गरेर घरव्यवहार चलाइरहेका छौँ । त्यहीको आम्दानीले ६ जनाको परिवारको लालनपालन, छोराछोरीको शिक्षादिक्षा मात्रै होइन थोरै भएपनि बचत गर्न सफल भएका छौँ”, चौधरीले भनिन् । विगत १० वर्षदेखि बगरखेतीमा लागेको बताउने चौधरीले सुरूका केही वर्ष खासै लाभ नभएपनि पछिल्ला ६ वर्षयता राम्रो आग्दानी गरिरहेको बताउँछिन् । उनका अनुसार एक मौसममा बगरखेतीबाट साढे ३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

“बाढी पसेको १० वर्षसम्म त यहाँ बालुवा मात्रै थियो । पछि गाउँलेहरूले सल्लाह गरेर बगरखेती सुरू ग¥यौँ । अहिले बालुवा हेरेर पछुताउने अवस्था छैन”, चौधरीको भनाई छ, “बगरखेतीपछि मिहेनत गरेमा बगरमा पनि पैसा फलाउन सकिँदो रहेछ भन्ने सिकाई भएको छ ।”

सनमाया मात्रै होइन जमिन बगरमा परिणत भएपछि घरखर्च चलाउन ज्यालामजदूरी गर्न बाध्य स्थानीय ३५ वर्षीया रीता चौधरीको पनि आम्दानीको प्रमुख स्रोत नै यही बगरखेती भएको छ । उनले पनि एक विघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेति गरेर एक मौषममा रु एक लाखदेखि डेढ लाखसम्म बचत गर्ने गरेको बताउँछिन् ।

“खेतीयोग्य जमिन बगर भएपछि सुरुमा निकै समस्या भयो । अरुकहाँ ज्याला मजदुरी गरेर जीविको चलाउने दिनपनि आए । तर बगरखेती गर्न थालेपछि भने आफैँ उद्यमी बनेका छौँ । अहिले यहीँ खेतीको आम्दानीबाट घरपरिवारको लालनपालन, छोराछोरी पढाउन र केही बचत गर्न पाउँदा सफल भएका छौँ” उनले भनिन् ।

लमही नगरपालिका–४ की ३७ वर्षीया माया चौधरीले एक विघा जमिनमा खरवुजा र एक विघामा तरकारी खेती गरेर एकै मौसममा डेढ लाखसम्म आम्दानी हुने गरेको बताइन् ।

सनमाया, रीता र मायाजस्तै कुनै समय नदीले उठिबास लगाएपछि घरवास समस्यामा परेका यस ठाउँका करिब दुई सय किसानले बगरखेती गरेर जीविका चलाइरहेका छन् । त्यसले जीविकोपार्जनमा टेवा पुग्नुका साथै विगतको दुःख भुलाउन पनि सहज भएको छ ।

लमही नगरपालिका –४ बलरामपुरमा मात्रै होइन, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरखेती गरेर आम्दानी गर्न सफल भएका छन् । राप्ती नदी आसपासका यी तीनवटै स्थानीय तहका बगर क्षेत्रलाई व्यक्तिगत र सामूहिक रूपमा गरी दुई हजारभन्दा बढी किसानले १०२ समूह बनाएर उपयोग गरिरहेका स्थानीय कृषि बहुउद्देश्य सहकारी संस्थाको तथ्याङ्क छ । यही संस्थाले सुरूमा किसानलाई निःशुल्क तालिम र २५ प्रतिशत अनुदानमा बीउ तथा विना धितो ऋण पनि उलब्ध गराउँदै आएको थियो ।

हाल सो नगरपालिकाले बगरखेती गर्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान र निःशुल्क तालिम उपलब्ध गराउने गरेको लमही नगरपालिकाको कृषि शाखाकी गङगा चौधरीको भनाई छ। गढवा गाउँपालिकाले भने किसानले उत्पादन गरेका कृषिउपजलाई बजारसम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ ।

तर एकीकृत योजना बनाएर स्थानीय तहलगायत तीनै तहका सरकाले सिँचाइ सुविधा, मलखाद, बीउ तथा बजारीकरणमा सहयोग गरे बगरखेतीबाट अझबढी लाभ लिन सकिने यहाँका किसानको बुझाई छ ।

प्रचण्ड गर्मी छ । बालुवा नै बालुवा भएकाले सुख्खाबढी हुन्छ । तर नजिकै बोरिङ छैन । उत्पादन खपत हुने पर्याप्त बजार पनि छैन । सरकारले यी समस्या समाधान गरिदिए अझ बढी मेहनत गरेर उत्पादन बढाउने उनीहरुको योजना छ । रासस

You might also like

Comments are closed.