९ महिनामा ५ अर्ब राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले ९ महिनामा रु ५ अर्ब ७३ करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व सङ्कलन गरेको हो । कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु २ अर्ब १८ करोड ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु २ अर्ब ३३ करोड एक लाख, अन्त शुल्कतर्फ रु १५ करोड ६ लाख र अन्यतर्फ रु १ अर्ब ६ करोड ५१ लाख राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।

कार्यालयले चालु आवका ९ महिनामा रु ८ अर्ब ५६ करोड ६४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ६६ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको उनले जानकारी दिए । “पूँजीगत खर्च कम छ, विकास निर्माणका काम बढेका छैनन्, जसले गर्दा आयात घटेको छ”, उनले भने, “बढी राजस्व सङ्कलन हुने वस्तुको आयातमा कमी छ, यसले राजस्व सङ्कलन प्रभावित भएको छ ।”

jutta mela

उनका अनुसार चालु आवको साउनमा रु ४६ करोड ८२ लाख, भदौमा रु ५१ करोड ९३ लाख, असोजमा रु ६३ करोड १४ लाख, कात्तिकमा रु ६१ करोड ४६ लाख र मङ्सिरमा रु ७३ करोड ३४ लाख राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा रु ६८ करोड ९० लाख, माघमा ६६ करोड ६७ लाख, फागुनमा ६९ करोड एक लाख र चैतमा रु ७२ करोड १३ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

चालु आवमा भन्सार कार्यालयको रु ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको लक्ष्य छ । चालु आवका ९ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ४९ दशमलव ५१ प्रतिशत रहेको सूचना अधिकारी खड्काले बताए ।

गत आवमा २०७९/८० मा रु १२ अर्ब ३० करोड ६६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा रु ८ अर्ब २९ करोड ६३ लाख राजस्व भएको थियो । त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशतमात्रै रहेको कार्यालयले जनाएको छ । रासस

You might also like

Comments are closed.