इन्द्रावतीको पानीः ५५ सय परिवारको जिन्दगानी

काभ्रेपलाञ्चोक । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घर–घरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याइँदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका ५५ सयभन्दा बढी स्थानीयका घर–घरमा सोही नदीको पानी पाइपबाट ‘अविरल’ खानेपानीका रूपमा आउँदो साउन महिनामा घर–घरमा पुर्याइने भएको हो ।

टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त इन्द्रावती नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको ‘जिन्दगानी’ बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराउन लागिएको हो ।

विसं २०७८ असारमा बृहत् खानेपानी आयोजनाको प्रशासनिक प्रक्रिया थालेलगत्तै पहिलो चरणमा रु ५४ करोडको ठेक्का आह्वान गर्दै सोही वर्षको साउनदेखि निर्माणको काम सुरु गरिएको थियो । आयोजनाको हाल करिब ८० प्रतिशत काम सकिएको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर लामाले बताए ।

jutta mela

नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेको ९ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । विसं २०७७ चैतमा उक्त खानेपानी आयोजनाका लागि सरकारीस्तरबाट रु एक अर्ब स्वीकृत गरिएको थियो । स्वीकृत बजेटमध्ये करिब आधा बजेट आयोजनाको प्रारम्भिक ठेक्का सम्झौता गरिएको थियो । “आयोजनाको भौतिक काम तीव्र रूपमा भइरहेको छ, निर्धारित समयमै सम्पन्न हुने देखिएको छ, साउन महिनाभित्र स्थानीयका घरघरमा खानेपानी पुग्दैछ”, अध्यक्ष तामाङले भने ।

लामाका अनुसार आयोजना ३ वर्षमा सक्ने समयसीमा हो । शर्मा–लामा–रमण जेभी निर्माण कम्पनीले आयोजनाको निर्माण गरिरहेको छ । आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।

उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयसँग प्रतिउपभोक्ता रु एक हजार सङ्कलन गरिएको थियो । मण्डनदेउपुर नगरपालिकासँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड सम्झौता गरिएअनुसार रु ५१ लाख ६६ हजारको सम्झौता भएको लामाले बताए ।

मण्डनदेउपुर–१० की वृद्धा पञ्चमाया तामाङले घरमा खानेपानी आउने भएपछि निकै खुसी लागेको बताइन् । “घरमै पानी आएपछि पँधेरो र कुवा धाउनु नपर्ने हुँदा हामी निकै खुसी भएका छौँ”, उनले भनिन् । उनले यसअघि भूकम्पले नजिकको पानीको मूल सुक्दा आधा घण्टाको बाटो हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता भएको बताउँछिन् ।

हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेबाट पानी खसालिने छ । अन्य दुईवटा निर्माण हुने समवेलअन्तर्गत नारिमखर्कमा धमाधम निर्माण भइरहेको अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार नारिमखर्क र सोतेमा पानी प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट)को निर्माण अन्तिम चरणमा पुगेको छ । इन्द्रावती नदीको पानी प्रशोधन गरेर ९ सय मिटरको उचाइमा अवस्थित थामडाँडाको मुख्य ट्याङ्कीमा खसालिनेछ ।

यस आयोजनाअन्तर्गत हाल विभिन्न स्थानमा आवश्यक ३० वटासहित २३ वटा वितरण ट्याङ्की निर्माण सकिएको छ । वितरण ट्याङ्की २० देखि एक सय घनमिटरसम्मका छन् । यस्तै ४० देखि दुई सय घनमिटरका पम्पिङ गर्ने सातवटा ट्याङ्की निर्माण गरिएको छ । यस्तै खानेपानी आयोजनाको कार्यालय भवन निर्माण सकिएको छ ।

पानी लिफ्टिङका लागि चारवटा पानी तान्ने पम्प आएपछि वैशाख महिनाभित्र पानी परीक्षण गरिने जनाइएको छ । आयोजनाको मुख्य पाइप लाइन ३६ किलोमिटरको हुने जनाइएको छ । हाल मुख्य पाइप लाइन बिच्छ्याउने काम भइरहेको छ । वितरण पाइप लाइन १५४ किलोमिटर हुनेछ भने समग्रमा कुल १८० किलोमिटर पाइप लाइनको हुनेछ । घर–घरमा धारा जडानको काम बाँकी रहेको अध्यक्ष तामाङ बताउँछन् ।

आयोजनाबाट नगरको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ वडाका ५५ सय ५ घरधुरी लाभान्वित हुनेछन् । प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङ्कीमा प्रतिसेकेण्ड १३ दशमलव ०५ लिटर पानी खस्नेछ । आयोजना सम्पन्न भएपछि ९ वर्षअघिको भूकम्पले पानीका मूल सुकाएर खानेपानीको समस्या झेलिरहेका यहाँका बासिन्दा खानेपानी अभावबाट उन्मुक्ति पाउने आशामा रहेका छन् । रासस

You might also like

Comments are closed.