भोजपुरको दुर्गम भेगका निःशुल्क स्वास्थ्य शिविर, स्थानीयलाई उपचारमा राहत

भोजपुर । गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय तहका एक हजार बढी स्थानीयले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।

षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका एक हजार ७३ जनाले विषेशज्ञ डाक्टरबाट सेवा पाएका हुन् । नोबल मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा भेटिएका जटिल समस्या भएका १३४ जनालाई शल्यक्रियाको लागि सिफारिस गरिएको छ ।

षडानन्द नगरपालिकाका–६ का ६४ वर्षीय स्थानीय निलबहादुर खड्गीले भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका नसकेका बेला निःशुल्क स्वास्थ्य शिविरमार्फत सबै खालका रोग उपचार गर्न पाउँदा धेरै खुसी लागेको बताउँछन् । यही उपचार लिन बाहिरका अस्पतालमा जाँदा धेरै खर्च हुने गरेको उनले अनुुभव सुनाए ।

शिविरमा सेवा लिन आएकी पवित्रा दर्जीले शिविर सञ्चालनले दुर्गम क्षेत्रका हामीजस्ता धेरै नागरिकले सहज उपचार गर्ने अवस्था नहुँदा रोग लुकाएर बसेकाहरूले उपचार गर्न पाएकोमा धेरै राहत मिलेको बताइन् ।

शिविरमा जनरल मेडिसिन तथा मुटुरोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक, कान घाँटी, न्यूरो सर्जरी, फोक्सो, छाला तथा यौनरोग, कलेजो तथा नसारोग, ल्याब परीक्षण, भिडियो एक्सरे, बालरोगलगायत रोगको निःशुल्क उपचार गरिएको थियो । रासस

lcci
You might also like

Comments are closed.