रामपुर आधारभुत विद्यालयमा प्रार्थना समयमा योग शिक्षा, विद्यार्थी योगाभ्यासमा आकर्षित

सुशीला रेग्मी

रामपुर (पाल्पा) । विद्यालयमा प्रार्थना (पिटि) गरेपछि मात्रै पठनपाठन सुरु हुन्छ । यो सबै विद्यालयमा अनिवार्य गरिन्छ । प्रार्थनाका कार्य सकिएपछि मात्रै विद्यार्थी आफ्नो कक्षाकोठामा प्रवेश गर्छन् । यो नौलो होइन, किनकी नियमित रुपमा यस कार्य भइरहन्छ ।

रामपुर आधारभुत विद्यालयमा भने फरक खालको क्रियाकलाप गराउने गरिएको छ । पाल्पाको रामपुर नगरपालिका ५ स्थित कान्जिहाउसमा रहेको यस विद्यालयमा प्रार्थना समयमा पुुग्दा विद्यालयको प्राङ्गणमा कुनैपनि शिक्षक र विद्यार्थी भेटिदैनन् । यो देखेर धेरैको मनमा विद्यालयमा विद्यार्थी नै छैनन् कि या आज विद्यालय बन्द छ भन्ने प्रश्न उब्जन्छ ।

प्रार्थना समयमा शिक्षक र विद्यार्थी एकाग्र भएर विद्यालयको कोठमा (हलसहित) योगाभ्यासमा डुुब्छन् । विद्यालयमा योगाभ्यास गर्न थालेपछि दिनभर शरीर फूर्तिलो हुने गरेको कक्षा ६ मा अध्ययनरत छात्रा खुशी पाठकले आफ्नो अनुभव सुनाइन् ।

“विद्यालयमा अहिले नियमित योगा गर्न थालेपछि शरीरलाई आनन्दको महसुस भएको छ, कक्षा सुरु हुनु अगावै योगा गरेर मात्र पठनपाठन सुरु हुन्छ, जसले गर्दा दिनभरको अल्छीपन हटेर जाने, पढुँ–पढुँ हुने, गर्मी अत्यधिक बढ्दै छ तर योगले शरीर नै हल्का हुन थालेको छ” छात्रा पाठकले आफ्नो अनुभव व्यक्त गरिन् ।

लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा गत चैत १७ देखि २५ गतेसम्म आयोजना भएको जीवनविज्ञानको चक्रविज्ञान कार्यक्रममा यस विद्यालयबाट प्रधानाध्यापक विजय शर्माको नेतृत्वमा सहायक प्रअ चम्पा गौतम र शिक्षक तुल्सी गौतम सहभागी भई यस सम्बन्धी जानकारी लिएका थिए । सो कार्यक्रमबाट फर्के पश्चात् विद्यालयले यसै शैक्षिक सत्रबाट प्रार्थना समयमा योगाभ्यास गराउने निर्णय गरेपछि अहिले नियमित रुपमा योगाभ्यास कार्य चलिरहेको छ ।

विहान ९ः५५ देखि १० : २० सम्म (२५ मिनेटको समय) को समय (प्रार्थना समयमा) मा विद्यालयको हलभित्र योगाका विभिन्न क्रियाकलाप गराइन्छ । यस कार्यमा शिक्षक र विद्यार्थी उत्साहजनक रुपमा सहभागी हुन्छन् । हँसिलो मुद्रामा योगाभ्यासका विभिन्न क्रियाकलाप गर्दा दिनभरको थकान, अल्छीपन सबै हटेर जाने, शरीर हल्का भएको महसुस, शिक्षण कार्यमा ध्यान केन्द्रित भइरहने विद्यार्थीले बताएका छन् ।

विद्यालयमा अहिले प्रार्थनाको सट्टा योगाभ्यास गराउन थालेपछि विद्यार्थीमा पहिला भन्दा शिक्षण कार्यमा ध्यान केन्द्रित हुने, लेखपढ गर्न खोजिरहने, विद्यार्थीको आचरणमा केही परिवर्तन हुदै गएको प्रधानाध्यापक विजय शर्मा बताउँछन् ।

“नियमित योगा र ध्यान गर्नाले हाम्रो शरीर चुस्त दुरुस्त हुन्छ, यसले शरीरको रोग प्रतिरोधी प्रणाली तथा मानसिक स्वास्थ्यमा सुधार गर्छ, ध्यान र योगाले स्मरणशक्ति तिक्ष्ण हुने हुनाले विद्यालयमा योगाभ्यास सुरुवात गरेका हौँ” प्रअ शर्माले भने,–“गर्मी समयमा विद्यालय प्राङ्गणमा प्रार्थना गराउनुभन्दा हलभित्र राखेर योगा गराउनु नै उत्तम लाग्यो, विद्यार्थीपनि यस कार्यमा बढी रहर गर्छन्” ।

jutta mela

सुरुमा नाच्ने र नचाउने कार्य गरिन्छ, त्यसपछि ध्यान गर्ने, योगाका विभिन्न चरणहरु गराउने गरिएको प्रअ शर्माले बताए । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानले मात्र सिकाई पुरा हुदैन, उसको चौतर्फी विकासका लागि एकोहोरो कक्षाकोठामा राखेर पढाइराख्नु भन्दा दुई/दुई घण्टीको अन्तरालमा पानी पिउने, शौचालय जाने अर्थात् आरामका लागि भनेर १० मिनेट समय दिइएको प्रअ शर्माले जानकारी दिएका छन् ।

उनी भन्छन्, “गर्मीको समय भएकाले पनि लगातार पढाइरहदा विद्यार्थीमा बोझा नहोस् भन्नका लागि प्रत्येक दुई घण्टी पढाइएपछि १० मिनेटको समय हातखुट्टा, मुख धुन, शौचालय जान, पानी पिउन, आरामका लागि समय छुट्टाइएको छ, खाजा समय भने २० मिनेटको तोकिएको छ, तोकिएको समयमा विद्यार्थीले आफ्ना सबै कार्य सकाउँछन्” ।

विद्यार्थीलाई बोझ र तनाव कम गर्दै उनीहरुको ईच्छा र मनोभावनालाई बुझेर समयानुकुल शिक्षा प्रदान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद गौतम बताउँछन् ।

“पढ्ने र सिक्ने कार्यमा अनावश्यक विद्यार्थीलाई तनाव दिनुहुदैन, सिकाई खुल्ला वातावरणमा गर्दै सिक्दै सिक्ने प्रक्रिया हो, किताव मात्रै पढेर उसले सबै कुरा सिक्यो भन्ने हुदैन, घरायसी जीवन देखि विद्यालय, साथीसंगी, शिक्षक, आफूभन्दा ठूला तथा सानालाई गर्ने व्यवहार जस्ता कुरालाई पनि सिकाउनु जरुरी छ, हामीले व्यवहारिक पक्षलाई पनि संगसंगै सिक्ने वातावरण तयार पारेका छौँ” अध्यक्ष गौतमले भने ।

यस विद्यालयले ‘गुणस्तरिय शिक्षा र नैतिकता’ भन्ने नारा तय गरेर असल र नेतृत्ववान्, हरेक क्षेत्रमा निडर, प्रतिष्पर्धी विद्यार्थी उत्पादनमा जोड दिइएको छ । योग, ध्यान र साधना, नैतिक र चरित्रवान् विद्यार्थी बनाउनुपर्छ भन्ने विद्यालयको सङ्कल्प छ । यस कार्यमा शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी तथा यस क्षेत्रका स्थानीयवासी, सरोकारवाला निकायको राम्रो साथ र सहयोग रहेको छ ।

यहाँ अध्ययनरत विद्यार्थीले आफ्नो जन्मदिनमा विद्यालयमा दियो बालेर जन्मोत्सव मनाउने प्रवृत्ती छ । आफैले दैनिक विहान साँझ खाने तरकारी घरमा फलाउनुपर्छ भनेर कृषि कार्य गर्न विद्यालयले सिकाउने गरेको छ भने सोही अनुसार विद्यार्थीले पनि घर–घरमा सुरुवात गर्न थालेका छन् ।

यदि सही ढंगले योगा र ध्यान गर्ने हो भने हाम्रो जिन्दगीबाट तनाव भाग्छ । योगाले खानपानको बानी पनि सुधार्ने, नियमित योगा गर्ने बानीले स्वस्थ खानातर्फ रुची बढ्ने, आहार सुधार हुन्छ मानिस खुसी हुन थाल्छ । यसले आत्मविश्वास बढाउँछ ।

हामीलाई व्यस्तताको कारण व्यायाम गर्ने समय पनि मिल्दैन । तर, यदि थोरै समय मिलाएर हामीले आफ्नो शरीरमा ध्यान दिने हो भने यसको फाइदा हामीलाई नै हुन्छ । दैनिक थोरै समयसम्म योगा र ध्यान गर्नाले शरीरको लचकतामात्रै बढ्दैन बरु कार्यालयको काम गर्ने उत्साह र जाँगर पनि बढ्छ ।

 

You might also like

Comments are closed.