रोटरी क्लब अफ नक्साल शक्तिको आयोजनामा निःशुल्क बृहत दन्त शिविर, २५३ जना लाभान्वित

पोखरा । गण्डकी मेडिकल कलेज (जिएमसी), पोखराको प्राविधिक सहयोग र स्मृति युवा क्लवको स्थानीय सहयोगमा रोटरी क्लब अफ नक्साल शक्तिको आयोजनामा निःशुल्क बृहत दन्त तथा सामान्य स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । पुतलिबजार न.पा. वडा नं. १३, लामपाटा, स्याङ्जास्थित सक्षम आमा समूह भवनमा शनिबार कार्यक्रम भएको हो । एक दिन सञ्चालन भएको उक्त निःशुल्क शिविरमा २ सय ५३ जनाको डेन्टल परीक्षण तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरु मध्ये १२० जनाले दाँतको परीक्षण गराएका छन् ।

रोटरी क्लबका संस्थापक अध्यक्ष रोटेरियन डा लुना शर्मा अर्यालको अध्यक्षतामा कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले स्वास्थ्य परीक्षण गरी समुदायमा स्वास्थ्य योगदान पुर्याउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गरे । उपमेयर देवी अर्याल, गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. रवीन्द्रप्रसाद श्रेष्ठ, नगरपालिकाका वडा नं १३ का अध्यक्ष जुद्धबहादुर राना लगायतको उपस्थितिमा आयोजित शिविरमा विभिन्न संघ संस्था, क्लबका प्रतिनिधि तथा समाजका प्रतिष्ठित सदस्यहरुको पनि उपस्थिति थियो।

कार्यक्रमको अध्यक्ष डा. लुना शर्मा अर्यालले स्वास्थ्य शिविरको महत्वबारे जानकारी दिदै रोटरी क्लब अफ नक्साल शक्तिद्वारा प्रदान गरिएको सामुदायिक सेवाहरू बारेमा उल्लेख गरिन् । उनले दाँतको र सम्पूर्ण स्वास्थ्यको महत्व र कसरी स्वस्थ रहँदा मानिसहरूलाई थप उत्पादनशील बनाउन सकिन्छ भनेर सहभागीहरुलाई प्रशिक्षण प्रदान गरिन् । गण्डकी मेडिकल कलेज र स्थानीय समुदायबीचको सहकार्य, स्याङ्जा जिल्लाका जनताका लागि कलेजले पुर्याएको योगदानमा जोड दिइन् ।

रोटरी क्लब अफ नक्साल शक्तिका पब्लिक इमेज चेयर तथा गण्डकी मेडिकल कलेजका सहप्राध्यापक डा नुवादत्त सुवेदीले स्वागत मन्तव्य राख्दै दाँत तथा समग्र स्वास्थ्यको महत्वका साथै स्यांग्जा जिल्लामा स्वास्थ्य सेवा सुदृढ गर्दै लैजानुपर्ने आवश्यकतामा प्रकाश पारेका थिए ।

गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा रवीन्द्रप्रसाद श्रेष्ठले गण्डकी मेडिकल कलेज नगरपालिका र स्वास्थ्य महाशाखासँग सहकार्य गर्न सधैं तत्पर रहेको बताए। कलेजले प्रदान गर्ने सेवाका बारेमा पनि प्रकाश पार्दै डेन्टल कलेजमा विभिन्न विशेष विभागहरु रहेको जानकारी दिए । । शिविरमा सबै उपचार गर्न नसकिने भएकाले शिविरबाट रिफर हुने बिरामीलाई कलेजले विशेष छुट दिने पनि उनले प्रतिबद्धता जनाए ।

jutta mela

उपमेयर देवी अर्यालले शिविर आयोजना गरेकोमा रोटरी क्लब अफ नक्साल शक्तिलाई पनि धन्यवाद दिइन् ।

क्लबका सर्भिस प्रोजेक्ट चेयर डा. उज्ज्वल कोइरालाले धन्यवाद ज्ञापन गरेका थिए ।

स्वास्थ्य शिविरको स्थानीय व्यवस्थापन स्मृति युवा क्लबले गरेको थियो । पुतलीबजार नगरपालिका, सातुपसल स्वास्थ्य चौकी, सक्षम आमा समूह, लाम्पाटा बजार समिति लगायतले स्थानीय सहयोग गरेका थिए ।

शिविरको व्यवस्थापन रोटरी क्लब अफ नक्साल शक्तिका कोषाध्यक्ष रोटेरियन कृष्ण पौडेलले गरेका थिए । कार्यक्रम संचालन स्मृति युवा क्लब लाम्पाटाका सचिव मीनप्रसाद अर्यालले गरेका थिए ।

You might also like

Comments are closed.