७ हजार पशुपन्छीको उपचार

टीकापुर (कैलाली) । कैलालीस्थित रानीजमरा कुुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले ७४ सय ८ पशुपन्छीको उपचार गरेको छ । आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो ।

आयोजनाले पशु स्वास्थ्यका हिसाबले उपचार सेवा लिन टाढा रहेका वडा टीकापुर नगरपालिका–४ मौरनीया, वडा नं ७ दिव्यपुर, जानकी गाउँपालिका वडा नं २ बडरिया, वडा नं ६ जगतपुर र लम्की चुहा ७ चाङ्गावाणीमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा उपचारसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

टीकापुर–४ मा भएको पशु स्वास्थ्य शिविरमा ९३ गाईभैँसी, ४६८ भेडाबाख्रा, २४ बङ्गुर, १४ सय कुखुरा, ९ कुकुरको उपचार गरिएको छ । त्यस्तै टीकापुर–७ मा दिव्यपुरमा भएको शिविरमा ६७ गाईभैँसी, ३४४ भेडाबाख्रा, १७ बङ्गुर, ९८३ कुखुराको उपचार गरिएको छ ।

जानकी–२ बडरियामा ६६ गाईभैँसी, ६९३ भेडाबाख्रा, १५ बङ्गुर, २७९ कुखुराको उपचार गरिएको छ । जानकी–६ जगतपुरमा १४९ गाईभैँसी, ६४८ भेडाबाख्रा, ५४ बङ्गुर, १६ सय ४४ कुखुरा, २४ बिरालोको उपचार गरिएको पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारतीले जानकारी दिए ।

jutta mela

भारतीका अनुसार लम्कीचुहा नगरपालिकाको चाङ्गावाणीमा भएको शिविरमा ७८ गाई भँैसी, ३५५ भेडा बाख्रा, ४३२ कुखुरा, ७ कुकुर बिरालाको उपचार गरिएको हो । “पाँचवटै स्थानमा गरी ४६२ गाईभैँसी, २५ सय ४२ भेडाबाख्रा, १२२ बङ्गुर, ४३ सय ४२ कुखुरा हाँस र ४० कुकुर बिरालोको उपचार गरिएको छ”, उनले भने, “पशुपालक किसानलाई गाउँमै सेवा दिने उद्देश्यले उपचारका लागि विकट रहेका वडामा शिविर आयोजना गरेका हौँ । शिविरले किसानलाई धेरै लाभ भएको छ ।”

पाँच दिनसम्म चलेको पशु स्वास्थ्य शिविरमा ६२५ किसानले सेवा लिएका हुन् । आयोजनाले ग्रामीण क्षेत्रमा रहेका किसानलाई पशुपन्छीको उपचारमा सहजताका लागि गाउँगाउँमा गएर स्वास्थ्य सेवा दिएको हो । कार्यक्रममा पशु चिकित्सक डाक्टर निराजन चौधरीसहित टीकापुर, लम्कीचुहा र जानकी तीनवटै पालिकाका प्राविधिकले उपचारमा सघाएका हुन् ।

पशु प्राविधिक भारतीले हरेक वडाका वडाध्यक्षसँगको समन्वयमा कार्यक्रम गरिएको, शिविर आयोजना गर्दा जनप्रतिनिधि र बडघरको सहयोगमा गाउँका किसानले स्थानीयस्तरमै सेवा पाएका बताउँछन् । पशुमा स्वास्थ्य समस्या भएमा टाढा लगेर उपचार गर्नुपर्ने वा निजी एग्रोभेटका प्राविधिक घरमा लैजाँदा खर्चिलो उपचार गर्दै आएका स्थानीय गाउँमै उपचार पाएपछि खुसी भएका छन् । टीकापुर–७ बेलुका किसान फुलराम चौधरीको सपना कृषि फर्म छ । उनले गाउँमै पशु स्वास्थ्य शिविर आयोजना भएपछि १० भैँसी र ५ बाख्राको स्वास्थ्य परीक्षण गरे ।

“समय समयमा यस्ता खाले शिविर आयोजना गर्नुपर्छ । मैले पनि गाउँमै पशुको उपचार सेवा पाउँदा खुसी लागेको छ । पशुपन्छीमा समस्या भए टाढा टीकापुर लैजानुपर्ने समस्या हुन्छ, नभए निजी पशु प्राविधिक घरमै ल्याउनुपर्छ”, उनले भने, “यसरी गर्दा समय र खर्च महँगो हुन्छ । गाउँमै सेवा पाउँदा सबै किसान खुसी भएका छौँ ।” रासस

You might also like

Comments are closed.