तरकारी खेतीबाट मनग्य आम्दानी

राजविराज (सप्तरी) । सप्तरीको पश्चिम क्षेत्रको सुरुङ्गाा नगरपालिकाका महिला तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सुरुङ्गा नगरपालिका–९ टिकुलियाका महिलाले समूह बनाएर तरकारी खेती सुरु गरेका हुन् ।

महिलाको सक्रियतामा दिनाभद्री कृषक समूह बनाएर दलित समुदायका महिला यतिबेला तरकारी खेतीमा लागेका छन् । पन्ध्र महिलाको समूहले तरकारी खेतीबाटै मनग्य आयआर्जन गरेका छन् । उनीहरुलाई ‘सेभ द चिल्ड्रेन’को सहयोगमा ‘सबल नेपाल’ संस्थाले बीउबिजन र मलखाद सहयोग गरेको छ ।

कृषक समूहकी अध्यक्ष कविताकुमारी सदाले विगतमा आफूहरु बेरोजगार बनेर घरमै बस्दैआएकामा हाल तरकारी उब्जाएर पैसा कमाउन थालेको बताइन् । उनीहरुलाई सबल नेपालले तरकारी खेती गर्नेबारे तालिम समेत दिएको छ । “त्यत्तिक्कै बस्नुभन्दा मेहनत गरेर खाने सोचका साथ तरकारी खेती गर्न थालेका हौँ, तरकारी खेती गरेरै घरखर्च चलाउनुका साथै केही पैसा बचतसमेत गर्दैआएका छौँ” उनले भनिन् ।

करिब १४ कट्ठा जग्गामा दलित महिला मिलेर तरकारी खेतीमा संलग्न छन् । उनीहरुले बिहान आफ्नो घरको काम सघाएर बाँकी समय तरकारी खेतीमा बिताउने गरेको सबल नेपालका कृषि अधिकृत आशिष चौधरीले बताए । “दलित महिलाको आर्थिक समृद्धिका लागि सेभ द चिल्ड्रेनको साझेदारीमा समुन्नति कार्यक्रमअन्तर्गत सबल नेपालले तरकारी खेती गर्नका लागि बीउबिजन, प्राङ्गारिक मल, कृषि औजारलगायत सहयोग गरेको छ । यसबाट उनीहरु आत्मनिर्भर बन्दैगएका छन्” उनले भने ।

jutta mela

दिनाभद्री कृषक समूहका सदस्य ललिता सदाले समूहको तरकारी खेतीबाट आम्दानी गरेर आफ्नो घर व्यवहार चलाएर छोराछारीको पठाइ खर्चसमेत निकाल्ने गरेको बताइन् । सिँचाइ अभाव रहेको बेला सबल नेपालले कृषि मिटर सहयोग गरेका कारण पानीको अभाव नहुँदा अहिले तरकारी खेती गर्न समस्या नभएको उनको भनाइ छ । उनीहरुले लौका, फर्सी, खुर्सानी, भन्टा, काँक्रो, प्याजलगायत तरकारी उत्पादन गर्दै आएका छन् ।

आफ्नै बारीमा उब्जेका तरकारी नजिकैको टिकुलिया हटियमा तरकारी आफैँ बसेर बिक्री गर्दा आम्दानी गर्न सकिएको समूहकी सदस्य तिलिया सदाको भनाइ छ । “तरकारी खेतीले आफ्नो दैनिक खानाको लागि पुग्ने र बचेका तरकारी नजिकको हटियामा बिक्री गरेर आम्दानी गर्ने गरेकी छु” उनले भने ।

सुरुङगा नगरपालिका–२ कमलपुरका कृषकले समेत तरकारी खेतीबाट वार्षिक लाखौँको आम्दानी गर्न थालेका छन् । चन्द्रमुखी कृषक समूह गठन गरेर यहाँ तरकारी खेती गरिएको छ । व्यक्तिगत जग्गामा अहिले उनीहरु साग, प्याज, बोडी, खुर्सानी, मुला, फर्सीलगायत तरकारी उत्पादन गर्न थालेका छन् । समूहका सदस्य राजकुमार महतो चार छोरा÷छोरीलाई उच्च शिक्षा पढाउन तरकारी खेतीमा जुटेको बताउँछन् । मलेसियाबाट आएपछि उनले पाँच कट्ठा जग्गामा तरकारी खेती गरेर अहिले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

यस्तै धीरेन्द्र यादव पनि बुबाले गरेको तरकारी खेतीमा सधैँ सघाउँछन् । उनी कक्षा १२ मा स्थानीय विद्यालयमा अध्यनरत छन् । बिदाको समयमा तरकारी खेतीमा सहभागी हुने गरेको उनले बताए । चन्द्रमुखी कृषक समूहका अध्यक्ष जीवनप्रसाद यादवले १० बिघामा सामूहिक रुपमा तरकारी खेती गरेका छन् । यस क्षेत्रमा घोरगाधा र बादरको आङ्तक रहेको बाबजुत पनि तरकारी खेतीबाट लाखौँको आम्दानी गर्न किसान पछि हटेको छैनन् । सबल नेपालले सोलार पम्प सहयोग गरेपछि तरकारी खेतीमा ऊर्जा थपिएको सदस्य रामवती महतोले बताए ।

खडक नगरपालिका–४ अमहाका कृषक समूहले तरकारी खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन् । नगरपालिकाको अमाहा टोलका रामजानकी कृषक समूहका १८ सदस्यले तरकारी खेतीले वार्षिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्ने गरेका समूहका सदस्य सुनिता बस्नेतको भनाइ छ । सो बस्तीका करिब दुई सय परिवारले तरकारी खेती गर्दै आएका छन् । रासस

You might also like

Comments are closed.