सन्धिखर्कका किसानलाई कफी खेती तालिम

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफी खेती गर्ने किसानलाई एकदिने कफी खेतीसम्बन्धी तालिम दिइएको छ ।

व्यावसायिक रूपमा कफीखेती गर्ने ४१ किसानलाई कफीका विभिन्न जात, बिरुवा लगाउने विधि, कफीको स्यहारसुसार तथा गर्नुपर्ने सबै प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारीसहित प्रशिक्षण दिइएको हो ।

अन्नबाली लगाउँदा बाँदर तथा जङ्गली जन्तुबाट बचाउन निकै गाह्रो भएको र पर्याप्त सिँचाइ सुविधा नहुँदा अन्य खेती गर्न गाह्रो भएको समयमा कफीखेती राम्रो विकल्प भएको तालिममा भाग लिएका किसान बताउँछन् ।

तालिममा सहभागी प्रत्येक किसानले २ देखि ६ रोपनी जग्गामा २ सयदेखि ६ सय कफीका बिरुवा लगाउने कार्यक्रम रहेको कफी प्रवर्द्धन कार्यक्रम समन्वय समिति सन्धिखर्क–१० का अध्यक्ष धर्मराज भुसालले बताए ।

सन्धिखर्क नगरपालिका कृषि विकास शाखाको सङ्घीय सशर्त अनुदानतर्फको रु २० लाखको कार्यक्रम पनि छ । कार्यक्रमअन्तर्गत कफीखेतीका लागि खाडल खन्ने, प्राङ्गारिक मल खरिद, सिँचाइका लागि पानीट्याङ्की निर्माण गर्ने तालिम तथा भ्रमणको कार्यक्रम राखिएको सन्धिखर्क–१० का वडाध्यक्ष मोहनसिंह ठकुरीले बताए ।

सन्धिखर्क नगरपालिका कृषि विकास शाखाका प्रमुख राजेन्द्र भट्टराई र फरवार्ड नेपालका ‘फिल्ड अफिसर’ नोमराज पौडेलले कफी खेतीसम्बन्धी प्रशिक्षण दिएका हुन् । रासस

lcci
You might also like

Comments are closed.