चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर । ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ जाने हरेकलाई लोभ्याउने गरेको छ । यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ ।

महालक्ष्मीस्थान चोक, चापागाउँ दोबाटो चोक र थसीखेल चोकमा जाकाराण्डा फूलका ठूला रूखहरु छन् । अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटो खिच्नेहरुको लामलाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकाराण्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् ।

थसीखेल चोकमा फुलेको जाकाराण्डा देखेर मनै प्रफुल्ल हुने गरेको स्थानीय वीरेन्द्र तितुङ बताउँछिन् । उनी भन्छिन्, “हरेक वर्षको एकपटक जाकाराण्डा फुलेको देख्दा मन आनन्द हुन्छ । जाकाराण्डाले चक्रपथको मात्र नभएर वरपरको बस्तीको पनि शोभा बढाएको छ ।”

jutta mela

सोही फूलको दृश्य नियालिरहेका सर्जु रिजाल पनि जाकाराण्डा फूलले वर्षको एक पटक भएपनि वसन्त ऋतुको सम्झना गराउने गरेको छ । विश्वका विभिन्न देशको भ्रमण गरिसकेको बताउने सर्जु रिजाल अन्य देशमा फरक फरक रङ्गका जकाराण्डा देखिने भए पनि यहाँ एकै रङ्मा सजिएका दृश्य थप मनमोहक रहेका धारणा राखिन् ।

“जर्मनलगायत अन्य देशमा जाकाराण्डा विभिन्न रङ्गको हुन्छ तर यो चक्रपथमा एकै रङ्गको छ । हुन त यो पनि राम्रै देखिएको छ तर फरक–फरक रङ्गको भयो भने झन् शोभनीय देखिन्थ्यो” उनले भनिन् ।

ललितपुर महानगरपालिकाले चक्रपथ छेउमा जाकाराण्डा फूलका बिरुवा रोपेका छन् । तिमध्ये केही फुल्न सुरूगरेका छन् भने केही भर्खर हुर्कंदैछन् । केही रूखहरु फुलेर सडक ढपक्कै ढाकेका छन् । अहिले ललितपुरको जावालाखेल, लगनखेल, कुपण्डोललगायत विभिन्न स्थानमा जाकाराण्डा फुलेका देख्न सकिन्छन् । रासस

You might also like

Comments are closed.