पोखरामा इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) सम्बन्धी प्रशिक्षण

पोखरा । पोखरामा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधवारदेखि सुरु भएको छ ।
महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि सुरु गरिएको कार्यक्रम शुक्रवारसम्म चल्नेछ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रम शुभारम्भ गर्दै विद्युतीय सेवामा आधारित नागरिक सेवा निकै प्रभावकारी हुने भएकाले घर तथा भवन निर्माणका लागि यस प्रविधिको प्रयोग आवश्यक रहेको बताउँछन् ।

“प्रविधिको विकास तीव्र रूपमा अगाडी बढिरहेको छ, समयको गतिसँगै सेवामा आधुनिकता र प्रविधिको उपयोग अपरिहार्य जस्तै भइसक्यो, विकसित प्रविधिको आत्मसाथ गर्न सकिएन भने वैज्ञानिक ढङ्गले काम वा सेवाको गुणस्तर कायम गर्न सकिदैन” उनले भने ।
पोखरामा आगामी दिनमा इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम लागू गर्न आवश्यक पूर्वाधार तयार गरिने र यसमा लाग्ने जनशक्ति, पूर्वाधारको तयार गरी यथाशीघ्र लागु गरिने उनले बताए ।

६० वर्षदेखि मापदण्डको पर्खाइमा रहेको पोखरामा निकै मिहिनेत पश्चात् मापदण्ड सम्बन्धी आचारसंहिता जारी गरिएको छ भने पोखराको भौगर्भिक तथा वैज्ञानिक अध्ययन गरी कुन स्थानमा कस्तो प्रकारको संरचना निर्माण गर्न मिल्न भन्ने कुराको निक्र्यौल पश्चात् उक्त आचारसंहिता जारी गरिएको उनले उल्लेख गरेका छन् ।

jutta mela

पोखरामा निर्माण हुने भवनलाई ऊर्जा सबलीकरणयुक्त बनाउने सम्बन्धमा युरोपियन युनियनको सहयोगमा बिन परियोजना लागु गर्ने तयारी गरिएको छ । अब पोखरामा बन्ने घर तथा भवनहरू वातावरणमैत्री र ऊर्जा सबलीकरणयुक्त बनाइने र यसका लागि बिन परियोजनाको सहायतामा आवश्यक तयारी गरिनेछ । जलवायु परिवर्तनको असरका कारण जनजीवन तथा वातावरणमा देखिएका अल्पकालीन तथा दीर्घकालीन समस्याको समाधानका लागि पनि दिगो निर्माण आवश्यक रहेको छ ।

युएनडिपीको सहयोगमा लागु गर्न लागिएको इलेक्ट्रोनिक बिल्डिङ परमिट प्रणाली (इबिपिएस) एक वेबमा आधारित प्रविधि हो । जसलाई युएनडिपीले २०१५ मा निर्माण अनुमती प्रक्रियालाई व्यवस्थित गर्नको लागि विकसित गरेको थियो । यसको प्रयोगले सेवामा जवाफदेहिता, दक्षता र पारदर्शिता बढ्नुका साथै राष्ट्रिय भवन संहिताका प्रावधानलाई एकीकृत समेत गर्दछ । हाल देशभरका १९ नगरपालिकाले यसको प्रयोग गरिरहेका छन् ।

यसको प्रयोगका लागि युएनडिपीले स्रोत कोड प्रदान गर्नेछ । सूचना प्रविधि विभागले नगरपालिकालाई ई–प्रणालीहरू इबिपिएस वा राजस्व सम्बन्धित सफ्टवेयर र अन्य निःशुल्क कार्यान्वयन गर्न क्लाउड स्पेस प्रदान गर्दछ । नगरपालिकाको अनुरोधका आधारमा प्रयोगकर्ता नाम र पासवर्ड भने सूचना प्रविधि विभागले उपलब्ध गराउँदछ ।

विभागले नगरपालिकालाई क्लाउड स्पेस सहित १ वर्षको परीक्षण अवधिका साथ अपरेटिङ विन्डोज सिस्टम पनि उपलब्ध गराउनेछ । तीन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा महानगरपालिकाका ३३ वटै वडाका प्राविधिकलाई प्रशिक्षण प्रदान गरिनेछ ।

You might also like

Comments are closed.