‘सामूहिक प्रयत्नले मात्र बालश्रम न्यूनीकरण’

पोखरा । पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिको सामाजिक परीक्षण गराएको छ ।

बालश्रम न्यूनीकरण र श्रममा रहेका सहरी बालबालिकालाई अनौपचारिक शिक्षा प्रदान गर्दै आइरहेको सामाजिक विकास केन्द्रले यो वर्षमात्र घरेलु श्रममा रहेका ११ जना, होटल–रेष्टुराँमा काम गर्ने २६ जना, वर्कसपमा काम गर्ने १८८ जना, निर्माण खानीमा काम गर्ने ७९ जना एवं अन्य क्षेत्रमा कार्यरत ७४ जना गरी ३७७ जनालाई सेवा प्रदान गरेको छ ।

सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनका अनुसार बालश्रम न्यूनीकरण कार्यक्रममार्फत् हालसम्म ७३ जनालाई अनौपचारिक कक्षा, ४२ जनालाई पुनस्र्थापना ३२ जनाको जन्मदर्ता सहितका कानूनी प्रक्रियामा सघाइएको जानकारी दिए । यस्तै १८६ जना बालबालिकालाई अनौपचारिक जीवनपयोगी शिक्षा प्रदान गरिएको, १४ वटा बालश्रमिकको परिवार सवलीकरणमा सघाइएको, ३० वटा महिला समूह गठनसहित बालश्रमविरुद्ध परिचालित गरिएको छ ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत २९६ जना बालबालिकालाई उपचारात्मक सहयोग प्रदान, बालक्लब र युवा क्लब गठनदेखि बालबालिकाको लागि भ्रमणको व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए । जीविकोपार्जन तथा शिक्षा परियोजना अन्तर्गत ३२५ जना बालबालिकालाई वर्षको दुई पटक शैक्षिक सामग्री प्रदान गरिएको, १२ देखि १८ वर्षसम्मका बालिकाको लागि जीवन सिकाइ परियोजनामार्फत् ७२० जनालाई व्यवहारिक सीप तथा साक्षरता कार्यक्रम सञ्चालन गरिएको पनि अध्यक्ष लालचनले बताए ।

सामाजिक लेखा परीक्षण कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पर्यटकीय क्षेत्रमा बालश्रमको जोखिम सधैँ रहीरहने बताउँदै न्यूनीकरणको लागि सामूहिक प्रतिवद्दताको खाँचो औंल्याए ।

jutta mela

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले सामाजिक क्षेत्रमा काम गर्ने संस्थाले आफूले गरेका गतिविधिहरु पारदर्शी तरिकाले जनसमक्ष राख्नुपर्नेमा जोड दिए । सामाजिक विकास केन्द्रले विगतदेखि गरेका कार्यको स्मरण गर्दै उनले सबैको हातेमालोले मात्र बालश्रम न्यूनीकरण हुने बताए ।

पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले अनौपचारिक क्षेत्रमा रहेका बालश्रमिकको शिक्षा र स्वास्थ्यको लागि वडा र महानगरले सक्दो सहयोग गर्ने प्र्रतिवद्दता जनाए । पोखरा महानगरपालिकाको सामाजिक विकास शाखाकी बाल कल्याण अधिकृत विष्णु पौडेलले बालबालिकालाई निकृष्ट श्रममा लगाउन नपाइने र त्यस्तो पाइए कारवाही गरिने बताइन् ।

घरेलु श्रमिकको रुपमा कार्यरत विनु चौधरीले सामाजिक विकास केन्द्रबाट प्राप्त सहयोगप्रति कृतज्ञता जाहेर गर्दै निरन्तरताको कामना गरिन् । अर्की घरेलु श्रमिक कुशुमले अनौपचारिक कक्षाले आत्मबल बढाएको बताइन् । कोपिला नेपालकी तीर्थ थापाले बालश्रमको कारण के हो भन्ने पत्ता लगाउँदै बालबालिकाको क्षेत्रमा कार्य गर्ने संस्थाबीच सहकार्य हुनुपर्ने बताइन् ।

कार्यक्रममा स्वान्त सुखाय परोपकार प्रतिष्ठानका बाबुराम पन्त, अग्रज व्यवसायी चिनु गुरुङ, सामाजिक अभियन्ता उत्तम जोशी, साामाजिक विकास केन्द्रबाट सहयोग प्राप्त बालिकाकी अभिभावक शुष्मा बिक, इन्सेक गण्डकीका शिव खकुरेल, नवप्रभात मावि व्यवस्थापन समिति अध्यक्ष प्रिति पाण्डे, किडासाका रमेश बास्तोला, श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकाल लगायतले कार्यक्रबारे विभिन्न सुझावहरु दिएका थिए ।

कन्या क्याम्पस पोखराका प्रमुख सु्रेशकुमार मानन्धरबाट प्रस्तुत सामाजिक लेखा परीक्षण कार्यक्रमको सञ्चालन सामाजिक विकास केन्द्रका परियोजना सुपरभाइजर सुफल घिमिरेले गरेका हुन् ।

You might also like

Comments are closed.