पोखरा । पोखराको हेमजामा सञ्चालन भएको स्वास्थ्य शिविरबाट दुई सय भन्दा बढीले सेवा लिएका छन् ।
शनिवार हेमजा उद्योग व्यवसायी समितिको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा पोखरा २५ मा आयोजना गरिएको स्वास्थ्य शिविरमा २२५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) निःशुल्क परिक्षण भएको छ ।
कार्यक्रममा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह, टिजी, थाइराइड जस्ता समस्या वेवास्ता गर्दा नेपालीले पछि ठूलो सास्ती र आर्थिक क्षति व्यहोर्नु परेको बताए । उनले सम्भव भएसम्म वर्षमा एक पटक नियमित स्वास्थ्य जाँच गर्न र समस्या देखिएमा विशेषज्ञको सल्लाहमा उपचार गर्न आग्रह गरेका छन् ।
‘ठूलो समस्या नभई स्वास्थ्य संस्था नजाने र समस्या भएपछि पनि औषधी नखाने, खानपानमा हेलचेक्र्याइ गर्ने प्रवृत्ति समेत देखिएको छ,’ डा अधिकारीले भने, ‘यस्तो वेवास्ताले रोगी र परिवारका सदस्यलाई दुःख त थप्छ नै, कहिलेकाँही ज्यानै समेत जाने खतरा हुन्छ ।’
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलले अहिलेसम्म विंिंभन्न संघ, संस्थासँग समन्वय गरी हेमजामा चौथो पटक र पोखरासहित गण्डकी प्रदेशमा १६९ पटक शिविर गरिसकेको जानकारी दिए । शिविरबाट केही सेवा निःशुल्क दिइने मात्र नभई यसको विशेष अर्थ भएको उनी बताउँछन् ।
‘हाम्रा शिविर फगत शिविर होइनन्, स्वास्थ्यबारे विज्ञको सचेतनासहित गुणस्तरीय सेवाबारे बुझाउन यसले योगदान गर्छ,’ उनले भने । उनले छिट्टै पोखरा २५ र आसपासका स्थानीयलाई मध्यनजर गर्दै युआरएलले शाखा खोल्ने तयारी गरेको बताए । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्राप्त रेफरेन्स ल्याब हो ।
हेमजा उद्योग व्यवसायी समितिका अध्यक्ष मीनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २५ का वडा सदस्य कृष्णबहादुर कुवँर, समितिका उपाध्यक्ष सुशीला बास्तोला, नेपाल रेडक्रसका सोसाइटी पोखरा २५ उप शाखाका पूर्वसभापति कृष्णप्रसाद पौडेल, हेमजा स्वास्थ्य चौकीका इन्चार्ज कुश्मेश्वर सुवेदी लगायतले स्वास्थ्य शिविरका सन्दर्भमा आफ्ना भनाई राखेका छन् ।
Comments are closed.