पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने

गोदावरी (ललितपुर) । आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।

‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउण्डेसनका व्यवस्थापक लीलामणिरमण निरौलाले जानकारी दिए ।

महायज्ञ अवधिभर १०८ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, ५१ सय दिव्य कलश पूजन, ४ वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने निरौलाले बताए ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्नुहुने जनाइएको छ ।

ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको निरौलाले बताएका छन् । मानवसेवा फाउण्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् ।

स्थापना भएको एक वर्ष मात्र भएको र उक्त मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रुपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएका छन् । त्यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पनि दर्जनबढी बेसहारा आमाबुबाले आश्रय प्राप्त गर्दै आएका छन् ।

हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । देश विदेशमा रहेका नेपालीको सहयोगबाट भवन निर्माण गर्न सके हजारौँ भविष्यका कर्णधार बालबालिका अनि अनुभवका खानी ज्येष्ठ नागरिक आमाबुबाले स्याहार, सत्कार र असल संस्कार सिक्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ । रासस

You might also like

Comments are closed.