तनहुँको म्याग्दे गाउँपालिकाद्वारा शतप्रतिशत अनुदानमा कृषकलाई माछाको भुरा वितरण

दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रुपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो ।

गाउँपालिकाका ७ वटै वडाका कृषकलाई ५४ हजार ३ सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्धेश्यसहित गाउँपालिकाले अनुदानमा भुरा वितरण गरेको उनको भनाइ छ ।

डा शाह भन्छन् “विगत लामो समयदेखि माछापालन व्यवसायमा आवद्ध कृषकसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौँ । निवेदन प्राप्त भएका २७ जना कृषकलाई भुरा वितरण गरिएको छ ।” उनका अनुसार प्रति रोपनी छ सयका दरले माछाका भुरा वितरण गरिएको हो ।

कृषकलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्प जातका भुरा वितरण गरिएको डा शाहले बताए । उनले भने, “म्याग्दे गाउँपालिकाको हावापानीसँग मिल्ने प्रजातिका भुरा बाँडेका हौँ । यो माछा एक वर्षमा दुई किलोसम्म हुन्छ ।” गाउँपालिकाले सङ्घीय सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रति भुरा ५० पैसामा खरिद गरेको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक कृषकलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताउँछन् । “पालिकाले व्यावसायिक रुपमा काम गरिरहेका सबै कृषकलाई अनुदानको नीति ल्याएको छ, सोही बमोजिम कृषकलाई पनि शतप्रतिशत अनुदानमा भुरा वितरण गरेका हौँ”, उनले भने । श्रेष्ठले यो कार्यक्रमले व्यवसाय गरिरहेकालाई प्रोत्साहन हुने भन्दै नयाँलाई आकर्षण थप्ने विश्वास लिइएको उल्लेख गरे ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सूचना माग अनुसार विवरण सङ्कलन गरी पोखरीको क्षमता हेरेर भुरा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

म्याग्दे–४ का हिमनारायण कायस्थले गाउँपालिकाले निःशुल्क रुपमा उपलब्ध गराएको माछाका भुराले व्यवसाय सञ्चालनमा सहयोग पुगेको बताए । उनी भन्छन्, “हामी लामो समयदेखि माछापालनमा आवद्ध छौँ । व्यवसायलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिएकाले हामीलाई सहज भएको छ ।”

म्याग्दे–४ का भिमकुमारी रानालाई १८ सय, कायस्थलाई ५४ सय, टोपप्रसाद थापालाई १२ सय, वडा नं १ का पूर्णिमा थापालाई २४ सय, जगतबहादुर थापालाई २४, सन्तमान बोटेलाई १८ सय, वडा नं ३ का बोलबहादुर आलेलाई ३ हजार, टुपबहादुर थापालाई ३ हजार, धनबहादुर थापालाई १२ सय, वसुन्धरा बराई मगरलाई २४ सय, वसन्ती सारु मगरलाई १२ सय, भरतबहादुर उच्चै मगरलाई ६ सय, नविन बराईलाई १८ सय, बालचन्द्र शाहीलाई ६ सय, वडा नम्बर २ का लक्ष्मण थापालाई ६ सय, विष्णुबहादुर नेपालीलाई १२ सय, बेलबहादुर अधिकारीलाई १८ सय माछाको भुरा वितरण गरिएको छ ।

वडा नं ५ का तालबहादुर आलेलाई ३६ सय, जगत थापालाई १८ सय, मिनाकुमारी थापालाई ५४ सय, बलिसिरा रानालाई ६ सय, वडा नं ६ का श्रीबहादुर रानालाई ६ हजार, शेरबहादुर गुरुङलाई ३ सय, वडा नं ७ का धु्रवराज वाग्लेलाई ६ सय, ओमराज गोतामेलाई ६ सय, अच्युतराज काफ्लेलाई १२ सय, रमादेवी पौडेललाई १८ सय भुरा वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । रासस

lcci
You might also like

Comments are closed.