फुङ्लिङ (ताप्लेजुङ) । फुङ्लिङ नगरपालिका–६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिन्छन् ।
पुख्र्यौली पेसाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने काम गर्दै आएका हुन् । उनका बुबाले कागज बनाउने गर्थे । कागज उद्योगमा हुर्किएका उनी पनि बुबाआमालाई सघाउँदा सघाउँदै कागज बनाउने सीप सिके । शेर्पाको पुख्र्यौली घर भोजपुर जिल्ला हो । उनले २०४९ सालमा तेह्रथुम जिल्लाको वसन्तपुर क्षेत्रमा कागज उद्योग सञ्चालन गरे ।
त्यसपछि ताप्लेजुङको याम्फुदिन, खेवाङ क्षेत्रमा कागज उद्योग सञ्चालन गरे । २०६१ सालमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै छिरिङ हाते कागज उद्योग दर्ता गरेर अहिले सञ्चालन गर्दै आएका हुन् । अहिले उनको कागज उद्योगमा १० जनाले रोजगारी पाएका छन् ।
कागज उद्योगबाट खर्च कटाएर वार्षिक रु १२ लाख आम्दानी हुने गरेको शेर्पाले बताए । उद्योगकै आम्दानीले छोराछोरीको पढाइमा खर्च गरी बचतबाट सदरमुकाममा जग्गा खरिद गरेका छन् ।
अहिले उनी घर बनाउने तयारीमा छन् । शेर्पाको उद्योगको उत्पादन ९० प्रतिशत काठमाडौं हँुदै जापान, चीन, जर्मनलगायत देशमा निर्यात हुने गरेको छ । जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयलाई वार्षिक रु ४ लाख बराबरको कागज बिक्री गर्ने गरेको शेर्पाले बताए ।
शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको ५ वर्ष भइसकेको छ । “कागज जति उत्पादन गरे पनि बिक्रीका लागि समस्या छैन”, शेर्पाले भने, “बरु कागज उत्पादनका लागि कच्चापदार्थको अभाव हुने गरेको छ ।”
उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गरेको उनले जानकारी दिए । उनका अनुसार २० ग्राम कागजको प्रतिपन्ना रु २० र ४० ग्राम कागजको प्रतिपन्ना रु ४० मा ठूला उद्योगले खरिद गरेर लैजान्छन् । शेर्पाको उद्योगबाट गर्मी मौसममा दैनिक १६ सय थान र जाडो मौसममा ८ सय थानसम्म कागज उत्पादन हुने गर्छ ।
“जाडो मौसममा सुक्न अलिक समय लाग्ने भएकाले गर्मी मौसममा भन्दा कम उत्पादन हुन्छ”, शेर्पाले भने, “गर्मी मौसममा बढीमा ३ घण्टाभित्र जालीमा राखेको लेदो सुकेर कागज तयार हुन्छ तर जाडामा सुक्न ५ घण्टा लाग्छ ।”
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङमा १९ वटा नेपाली हाते कागज उद्योग दर्ता छन् । त्यसमध्ये केही उद्योग मात्र सञ्चालनमा छन् । रासस
Comments are closed.