चितवन निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २ लाख ७२ हजार ९४२ पर्यटकले निकुञ्ज क्षेत्र अवलोकन गरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार १० महिनामा १ लाख ६१ हजार ८२७ नेपालीले भ्रमण गरेका छन् । जसमध्ये सार्क मुलुकका २६ हजार ४६१ र तेस्रो मुलुकका ८४ हजार ६५४ जना रहेका छन् ।

गत आवमा २ लाख ९९ हजार ४१२ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका तिवारीले बताए । जसमध्ये तेस्रो देशका ५५ हजार ८७२ र सार्कका ३७ हजार ९३५ थिए । नेपालीको सङ्ख्या २ लाख ५ हजार ६०५ थियो ।

“कोभिडपछि विदेशी पर्यटकको आगमनमा कमी आएको थियो । क्रमशः विदेशीको सङ्ख्या बढ्दै गएको छ । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चितवन राष्ट्रिय निकुञ्जलाई लिने गरिन्छ”, सूचना अधिकारी तिवारीले भने, “विदेशी पर्यटक सफारी पर्यटनका लागि यहाँ आउने गर्दछन् । दुर्लभ एक सिङ्गे गैँडा, पाटे बाघलगायत वन्यजन्तु, चराचुरुङ्गी, जलचर अवलोकनका लागि पर्यटक यहाँ आउने गर्दछन् ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । निकुञ्जका केही प्रवेशद्वार महानगरतर्फ पनि छन् । महानगरले स्वदेश तथा विदेशमा समेत भ्रमण वर्षको प्रचारप्रसार गरिरहेको छ । रासस

lcci
You might also like

Comments are closed.