अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरण गर्न महालक्ष्मी विकास बैंक र एनसीएचएल बीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

विकास बैंकमध्ये यस बैंक एनसीएचएल सँग अन्तदेशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो विकास बैंक हो । भारतमा नोष्ट्रो खाता सञ्चालनमा रहेकाले बैंकले सो सुविधा प्रदान गर्न सक्षम भएको छ ।

सम्झौता पश्चात अन्तरदेशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरुवात लगत्तै नेपालमा रहेका भारतीय नागरिकले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै महालक्ष्मी विकास बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्रयान्डल लिंक गरिएको खातामार्फत भारतमा रहेको आफ्नो खातामा सिधै रकमान्तर गर्ने सुविधा उपलब्ध हुनेछ ।

यसैगरी भारतमा रहेका नेपाली नागरिकले पनि यूपीआई इनेबल्ड एप प्रयोग गरेर त्यहाँको नियामक निकायले तोकेको सीमाको अधिनमा रही नेपालमा महालक्ष्मी विकास बैंकको यूपीआई ह्रयान्डल लिंक गरिएको खातामा सिधै रकमान्तर गर्ने व्यवस्था उपलब्ध छ । यो अन्तरदेशीय भुक्तानी शुरु भए पश्चात् विशेष गरी विद्यार्थी, तीर्थयात्री, पर्यटक तथा चिकित्सा उपचारका लागि भारत जाने ग्राहकलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ ।

सो सम्झौता पत्रमा यस बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल र एनसीएचएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेकाछन् । गत पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

 

 

You might also like

Comments are closed.