दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर जोड्ने वनहरा पुल छेउमा खरले बनेका स–साना छाप्रा देखिन्छन् । महेन्द्रनगरस्थित पूर्वपश्चिम राजमार्ग छेउमा राखिएका यी छाप्रा यहाँका किसानको जीविकोपार्जनको स्रोत बनेको छ ।
राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुको यहाँ खरबुजा काँक्रा, लौकालगायत तरकारी किन्न घुइँचो लाग्ने गर्दछ । यहाँका विपन्न समुदायका नागरिकले राजमार्ग छेउमा रहेको बगरमा तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
पुस÷माघमा बगरमा रोपिएको तरकारी तयार भएपछि बेच्नका लागि हरेक वर्ष यसैगरी राजमार्ग छेउमा पसल थाप्ने गरेको किसान रामकृष्ण चौधरीले बताए । “बगरखेतीबाट प्रशस्त आम्दानी भइरहेको छ । लागत कटाएर रु २ लाखसम्म बचत हुन्छ”, उनले भने, “दुई बिघा पाँच कठ्ठा जग्गामा खेती गरेको थिएँ ।” उनले बगरखेती सकिएपछि रोजगारीका लागि भारत जाने गरेको बताए ।
“सिजनमा राम्रो कमाइ हुने भएकाले यहाँ आउँछु अन्य बेला भारतमा रोजगारी गर्छु”, चौधरीले भने, “ग्राकहको पनि समस्या हुँदैन राजमार्गमा ओहोरदोहोर गर्नेहरुले किन्ने गरेका छन् ।”
कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर जोड्ने वनहरा पुल छेउमा झण्डै एकसय परिवार मुक्तकमैयाको बसोबास छ । कमैया मुक्तिको घोषणापछि पुनःस्थापना हुँदा सरकारले पाँच कठ्ठा जग्गा दिएको थियो । खोला किनारको बलौटे जग्गामा अन्न नफल्ने भएकाले यहाँका स्थानीयलाई साँझबिहानको छाक टार्न निकै सकस हुने गर्दछ । परिवारको जोहो गर्नकै लागि बगरमा तरकारी खेती गर्नुपरेको मानमति रानाले बताइन् ।
“कमाइखान जग्गा छैन बगर खेतीकै भर पर्नुपर्छ”, रानाले भनिन्, “बगरखेतीबाट सिजनमा रु २ लाखसम्म कमाइ हुन्छ, यसले ६ महिना मात्रै खान पुग्छ ।” उनले बाँकी समयमा मजदूरी गरेर जीविकोपार्जन गरिरहेको बताएका छन् ।
अन्य समयमा मजदुरीको काम गर्ने गरेको खुसीरामा चौधरीको भनाई छ । पहिले भारतीय नागरिक आएर बगर तथा खाली जमिनमा तरबुजा, काँक्रा, लौका, फर्सीलगायतका खेती गर्दथे । अहिले कञ्चनपुरमा त्यसरी तरकारी खेती गर्ने भारतीय नागरिक निकै कम हुँदै गएका छन् । यसले एकातिर भारतबाट विषाक्त तरकारी आयात हुन रोकेको छ भने अर्कातिर नेपाली युवाहरुले रोजगारी पाएका छन् । रासस
Comments are closed.