नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । यो सातामा कारोबारको पहिलो दिन आज नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर २१ सय ९ दशमलव ३४ को बिन्दुमा कायम भएको हो ।

आज ३१५ कम्पनीको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर ७० हजार ५८६ पटक खरिदबिक्री हुँदा रु ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कूल बजार पुँजीकरण रु ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार पुगेको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह ३ दशमलव ३७ र म्युचुअल फन्ड ० दशमलव २१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह २ दशमलव १९ र जलविद्युत् समूह १ दशमलव ६२ प्रतिशतले घटेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ३६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु १५ करोड ६६ लाख १३ हजार ८३३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने रिडी पावर कम्पनी लिमिटेडको ४ लाख २६ हजार ८९६ कित्ता शेयर किनबेच भएको छ । रासस

You might also like

Comments are closed.

Secret Link