काठमाडौं । नेपाल वायुसेवा निगमसहित १५ वटा सरकारी संस्थान मुनाफा आर्जन गर्न असफल भएका छन् । संसद्मा आइतबार प्रस्तुत ‘सार्वजनिक संस्थानको वार्षिक समीक्षा’ मा उक्त कुरा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ नाफामा, १५ घाटामा र ३ संस्थानको कारोबार शून्य भएको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार आर्थिक २०७९/८० मा सबैभन्दा बढी खुद नोक्सान नेपाल वायुसेवा निगमको रहेको छ । नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल टेलिभिजनको खुद नोक्सान पनि उच्च देखिएको छ । गत आर्थिक वर्षमा वायुसेवा निगमको खुद नोक्सान रु ६५ करोड २९ लाख ३९ हजार बराबर छ । त्यस्तै, निगमको सञ्चित नोक्सान रु १६ अर्ब ३७ लाख ६३ हजार बराबर छ । वायुसेवा निगम आव २०७६/७७ देखि हालसम्म निरन्तर नोक्सानमा सञ्चालित छ ।
“आव २०७८/७९ को तुलनामा खुद नोक्सान घटेतापनि संस्थानको वित्तीय अवस्था सन्तोषजनक रहेको देखिँदैन”, प्रतिवेदनमा भनिएको छ, “वित्तीय संस्थाबाट कर्जा लिइ खरिद गरिएका जहाजको साँवा र व्याज भुक्तानी गर्न समस्या हुनु, उच्च प्रशासनिक खर्च, जहाजको न्यून सञ्चालन, समयमा उडान नहुनु, व्यावसायिक योजनाको न्यून कार्यान्वयनलगायत कारणले समग्र अवस्था खस्कँदो देखिएको छ ।”
यसैगरी, खानेपानी संस्थान र नेपाल टेलिभिजन आव २०७५/७६ देखि निरन्तर खुद नोक्सानीमा सञ्चालित छन् भने उदयपुर सिमेन्ट उद्योग लिमिटेड आव २०७६/७७ र दुग्ध विकास संस्था आव २०७७/७८ देखि खुद नोक्सानीमा सञ्चालन भइरहेका छन् । गत आर्थिक वर्षमा खानेपानी संस्थानको खुद नोक्सानी रु ५४ करोड ६९ लाख १९ हजार र सञ्चित नोक्सान रु ३ अर्ब ३ करोड ७० लाख बराबर थियो ।
दुग्ध विकास संस्थानको खुद नोक्सान रु ४८ करोड ४२ लाख २८ हजार छ भने सञ्चित नोक्सान रु १ अर्ब ८५ करोड ६ लाख, उदयरपुर सिमेन्टको खुद नोक्सान रु ३६ करोड २८ लाख ८८ हजार र सञ्चित नोक्सान रु ५ अर्ब ७८ करोड ८२ लाख बराबर छ । हेटौँडा सिमेन्ट उद्योगको खुद नोक्सान रु २५ करोड ४८ लाख र सञ्चित नोक्सान रु १ अर्ब १५ करोड ८६ बराबर छ भने नेपाल औषधि लिमिटेडको गत आवको खुद नोक्सान रु १५ करोड ५४ लाख र सञ्चित नोक्सान रु २ अर्ब १३ करोड ५९ लाख बराबर छ ।
नेपाल ओरिन्ड म्याग्नासाइट प्रालिको खुद नोक्सान रु १६ करोड ५८ लाख र सञ्चित नोक्सान रु ५ अर्ब ३करोड ७६ लाख र बुटवल धागो कारखानाको खुद नोक्सान रु ३ करोड ४३ लाख बराबर रहँदा सञ्चित नोक्सान रु २ अर्ब १२ लाख बराबर छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु १२ करोड ९२ लाख बराबर खुद नाफा कमाउँदा सञ्चित नोक्सान भने रु ७८ करोड २२ लाख बराबर छ । नेपाल आयल निगम लिमिटेड सबैभन्दा धेरै खुद नाफा गर्ने संस्थानका रुपमा देखिएपनि सञ्चित नोक्सान भने रु ४ अर्ब ८५ लाख ८९ हजार बराबर रहेको छ ।
नेपाल वन लिमिटेड रु ७ करोड ४३ लाख खुद नोक्सानमा हुँदा सञ्चित नाफा रु ७ करोड २४ बराबर, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेडको खुद नोक्सान रु ४३ लाख ३४ हजार हुँदा सञ्चित नोक्सान रु ११ करोड २९ लाख बराबर छ । नेपाल रेल्वे कम्पनी लिमिटेडको खुद नोक्सान रु १९ करोड ९६ लाख बराबर छ भने सञ्चित नोक्सानी रु ५५ करोड ९६ लाख तथा सांस्कृतिक संस्थानको खुद नोक्सान रु १ करोड ४८ लाख र सञ्चित नोक्सान रु २८ करोड ४२ लाख बराबर छ ।
जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले गत आवमा रु १९ करोड ३६ लाख बराबर खुद नाफा कमाएको देखिएपनि सञ्चित नोक्सान भने रु १ अर्ब १९ करोड ८७ लाख बराबर देखिएको छ । नेपाल टेलिभिजनको खुद नोक्सान रु ३५ करोड १२ लाख ६७ हजार र सञ्चित नोक्सान रु २ अर्ब ४० करोड ८९ लाख बराबर छ । राष्ट्रिय आवास कम्पनी लिमिटेड रु १ करोड ४ लाख खुद नोक्सानी र रु ११ करोड ८५ लाख सञ्चित नोक्सानीमा सञ्चालन भइरहेको छ ।
नेपाल टेलिभजनलाई सेवामूलक उद्देश्यका साथ सञ्चालन गर्दा व्यावसायिकता विकास हुन नसक्नु, इन्टरनेटमा आधारित नयाँ सञ्चारमाध्यमका कारण ग्राहक घट्नुलगायतले घाटामा गएको प्रतिवेदनमा उल्लेख छ । खानेपानी संस्थानमा महसुल बक्यौता उच्च हुनु, स्थानीय तहसँगको कमजोर समन्वय, महसुल समयानुकूल वृद्धि गर्न नसक्नुलगायतका कारणलाई जिम्मेवार ठानिएको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेड आधाभन्दा कम क्षमतामा सञ्चालन हुनु, प्रशासनिक खर्च उच्च हुनुलगायत समस्यामा छ ।
त्यस्तै, दुग्ध विकास संस्थानले आफ्नो उत्पादनको बजारीकरण गर्न नसक्नु, बजारको आवश्यकता मागभन्दा बढी दुग्ध पदार्थ उत्पादन गरी भण्डारण गर्नु, समग्र व्यवस्थापकीय कमजोरी, साँवा र व्याज समयमा भुक्तानी गर्न नसक्नुलगायत समस्याले खुद नोक्सान तथा सञ्चित नोक्सानी कम गर्न नसकेको प्रतिवेदनमा जनाइएको छ । सार्वजनिक संस्थानको व्यावसायिक योजनाको कार्यान्वयन अवस्थासमेत कमजोर रहेको प्रतिवेदनले औँल्याएको छ । रासस
Comments are closed.