पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

पोखरा । पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगर क्षेत्रमा रहेका जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घरमै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरेपछि नगरप्रमुख धनराज आचार्यले मंगलवार एक कार्यक्रमका बीच घोषणा गरेका हुन् ।

स्वास्थ्य सेवा विभाग अन्तरगतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार पोखरा महानगरपालिका भित्रका जन्मदेखि ११ महिनासम्ममा ५ हजार ९१३ बालबालिकालाई पेन्टा पहिलो र ९५ प्रतिशत बालबालिकाले दादुरा रुवेला दोस्रो खोप प्राप्त गरेका छन् । जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घरमै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरिएको छ ।

यस क्रममा खोपको कुनैपनि मात्रा प्राप्त नगरेका ४ जना र १३२ जना आंशिक खोप प्राप्त गरेका बालबालिकाहरू समेत नियमित खोप सेसन र आकस्मिक खोप सेसनमा समावेश गरी पूर्ण खोप प्रदान गरिएको छ । पोखरा महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नुअघि ३३ वटै वडामा पूर्ण खोप सुनिश्चितता गरिएको थियो । ८९० जना स्वास्थ्यकर्मी र ६५२ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई घरधुरी सर्वेक्षण देखी खोप लगाउने कार्यसम्म परिचालन गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

घोषणा सभामा नगर प्रमुख आचार्यले बालबालिकाको स्वास्थ्यका लागि खोप आवश्यक रहेको तथ्यलाई मनन् गर्न जरुरी रहेको बताए । ‘आफ्ना बालबालिकालाई लगाउनुपर्ने सबै प्रकारका खोपहरू नियमित लगाउने विषयमा सबै जनाकार हुन जरुरी छ, खोप औपचारिकता मात्र नभई यो बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको विषय हो’ उनले भने । खोपले बालबालिकालाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्ती प्रदान गर्ने र भविष्यमा आउन सक्ने स्वास्थ्य जटिलताबाट जोगाउने उनको भनाई छ ।

पोखरा महानगरपालिका बालबालिकालाई आवश्यक सबै खोपहरू प्रदान गर्ने कार्यमा प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए । एक जना बालबालिकालाई १३ प्रकारका खोपहरू प्रदान गर्दा ६० हजार बराबर लगानी हुने गरेको उल्लेख गर्दै उनले यसको महत्वलाई बुझ्न आवश्यक रहेको बताएका छन् ।

खोप लगाउन छुटेका बालबालिकालाई पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयम्सेविकालाई प्रति बच्चा रु.२ हजार पुरस्कार दिने घोषणा समेत गरेका छन् । खोप अभियानका क्रममा अहोरात्र खटिएर महत्त्वपूर्ण योगदान पु¥याउनु भएका स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको समस्याप्रति आफू जानकार रहेको महानगर प्रमुख आचार्यको भनाई छ ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पूर्वाधार जत्तिकै गुणस्तरीय शिक्षा र स्वास्थ्यको विकास पनि वास्तविक विकास हुने भन्दै विकास प्रतिको दृष्टिकोणमा व्यापकता आवश्यक रहेको बताउँछन् । मानव स्वास्थ्य र संसाधन दुवै सामाजिक विकासका आधार स्तम्भहरू भएको उनले बताए । सरकारका विभिन्न आवधिक योजनाहरूमा यसलाई महत्वका साथ उल्लेख गरेको पाइएपनि स्रोत र साधनको अभावमा कार्यान्वयनको पाटो कमजोर देखिएको उनले बताएका छन् ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले पुर्णखोप सुनिश्चितता स्वास्थ्य सम्बन्धी बालबालिकाको संवैधानिक अधिकारको प्रत्याभूति भएको उल्लेख गरे । महानगरका सबै बालबालिकालाई खोप प्रदान गर्नु आफूहरूको जिम्मेवारी रहेको बताउँदै उनले यसका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउँछन् । पोखरा महानगरपालिका वडा नं.२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले बालबालिकालाई खोप लगाउने अभियानमा हातेमालो गर्न आह्वान गरे ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्का, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भीमा पौडेल, महानगरपालिकाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सीना र जनस्वास्थ्य निरीक्षक एवं खोप अधिकृत तेजाखर लम्साल लगायतले बाल स्वास्थ्य र खोपको प्रभावकारिताका विषयमा आफ्ना धारणा राखेका थिए ।

lcci
You might also like

Comments are closed.