रामपुरका ज्येष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य परिक्षण

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले वरिष्ठ ज्येष्ठ नागरिकको सम्मान सहित स्वास्थ्य परिक्षण गरेको छ । नगरपालिकाले सोमबार नगरभित्रका ११ जना ज्येष्ठ नागरिकलाई सम्मान सहित स्वास्थ्य परिक्षण र अभिमुखिकरण कार्यक्रम गरेको हो ।

नगरपालिकाले प्रत्येक वडाबाट १/१ जना गरी ११ जना सबैभन्दा ज्येष्ठ नागरिकलाई सम्मान गरेको जनाएको छ । ज्येष्ठ नागरिकलाई छाता, दोसल्ला, थर्मस, सम्मान पत्र नगद सहित सम्मान गरेको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै ज्येष्ठ नागरिक राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष छत्र प्रधानले ज्येष्ठ नागरिकलाई सरकारले प्राथमिकतामा राख्न आवश्यक रहेको बताए । सरकारले ज्येष्ठ नागरिकको लागि विभिन्न कानुनी व्यवस्था गरे पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताएका छन् ।

“राज्यले धेरै सुविधा दिने भने पनि ज्येष्ठ नागरिकले नपाउनु दुखद पक्ष हो, सबै अधिकार र सुविधा पाउनका लागि अब हामी आफै लाग्नुपर्छ” उनले भने । ज्येष्ठ नागरिकको अधिकार सुनिश्चितता र सम्मानित जीवनयापनका लागि राष्ट्रिय नीतिमा परिमार्जन गर्न आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले ज्येष्ठ नागरिकको सुरक्षित र सम्मानित जीवनका लागी रामपुर नगरपालिकाले छोराछोरीको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले ज्येष्ठ नागरिकको अधिकार र सुरक्षित एव सम्मानित जिवनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै स्वतन्त्रपूर्वक र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगर प्रमुख थापाले नगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर यातायात र स्वास्थ्य सेवा सहितको ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारीमा रहेको बताउँछन् । पछिल्लो समय समाजमा विकृति विसंगती व्याप्त रहेको भन्दै यसका लागि ज्येष्ठ नागरिकसंग शिक्षा लिन आवश्यक रहेको उनले बताए ।

उपप्रमुख बालकुमारी थापाले नैतिक ज्ञानको अभावमा पछिल्लो समय अग्रज ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार नहुनु दुखद रहेको र सन्तानले सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रदान नगरे न्यायीक समितिको माध्यमबाट अधिकारको सुनिश्चितता गरिदिने बताइन् । ज्येष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य सुर्यप्रसाद श्रेष्ठले ज्येष्ठ नागरिकको मर्म र भावना बुझ्न नसक्दा अपहेलनामा परेको बताए । ज्येष्ठ नागरिकको सुरक्षा र सम्मानका लागि सबैले ध्यान दिन आवश्यक रहेको औँल्याए ।

यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिलबहादुर खाँणले ज्येष्ठ नागरिक समाजको मार्गदर्शक मात्र नभई सृष्टिकर्ता र सर्जक पनि भएको बताएका छन् । साथै हरेक क्षेत्रमा सहजता र सहुलियत प्रदान गर्नका लागि नगरका हरेक वडामा सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा ज्येष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले ज्येष्ठ नागरिक देशको अमूल्य सम्पत्ति भएको भन्दै हेलामा परेका नागरिकको सुरक्षाका निम्ती सबै लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा ज्येष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य डाक्टर प्रेम शर्माले ज्येष्ठ नागरिकको अधिकार, राज्यले गरेको कनुनी व्यवस्था, सुविधा लगाएतका विषयमा सहजिकरण गरेका हुन् । कार्यक्रमका अवसरमा सहभागि ज्येष्ठ नागरिकहरुलाई टिका खादा सहित सम्मान गरिएको छ । सोही अवसरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरी औषधी वितरण समेत गरिएको थियो ।

रामपुर नगरपालिकाको आयोजना र ज्येष्ठ नागरिक संघ पाल्पाको समन्वयमा भएको कार्यक्रम नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षता र ज्येष्ठ नागरिक महासंघका केन्द्रिय अध्यक्ष छत्र प्रधानको प्रमुख आतिथ्यतामा सम्मपन्न भएको हो । नमस्ते पाल्पा होटलको सभाहलमा नगर उपप्रमुख बालकुमारी थापाको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गरेकी हुन् ।

You might also like

Comments are closed.