रामपुर (पाल्पा) । रामपुर नगरपालिका वडा नं. १ पाल्पामा आधारभूत व्यवसायिक सिलाई कटाई तालिम आइतबार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत महिलाका लागि तीन महिने तालिमसंगै प्रविधि हस्तान्तरण गरेको हो ।
रामपुर १ स्याउली बजारमा भएको तालिममा सहभागीलाई प्रमाण पत्र तथा सिलाई मेसिन वितरण गर्दैै समापन गरिएको छ । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले तालिमलाई रोजगारमा रुपान्तरण गर्दै अघि बढ्न आग्रह गरेका छन् । तालिममा सिकेका सीपको माध्यमबाट आत्मनिर्भर बन्न सकेमा मात्रै तालिम सञ्चालनको औचित्य पुरा हुने बताए । उनले महिलालाई उद्यमशिलतातर्फ लाग्न अनुरोध समेत गरेका छन् ।
रामपुर १ का वडा सदस्य जीवन मायाँ नेपालीले तालिममा सिकेको ज्ञानमार्फत आत्मनिर्भर बनी समाजमा उदाहरण पेश गर्न शुभकामना दिइन् । कार्यक्रममा रामपुर नगरपालिकाका सूचना प्रविधि अधिकृत महेन्द्रप्रसाद श्रेष्ठ, प्रशिक्षक भगवती वि.क.ले सिकेका सीपको व्यवहारमा लागु गर्न सुझाव दिए । कार्यक्रममा सहभागीतर्फबाट खिमकुमारी नेपालीले तालिम प्रभावकारी भएको बताउँदै व्यवहारमा समेत उतार्ने प्रतिबद्धता जनाइन् ।
तालिममा सहभागी ८ जना महिलामध्ये ७ जनालाई सिलाई मेशिन प्रदान गरिएको छ । रामपुर १ का वडाध्यक्ष कपिलबहादुर खाँणको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको सञ्चालन उद्यमविकास सहजकर्ता रुपेश बडुवालले गरेका हुन् ।
Comments are closed.