पाल्पाको रामपुर नगरपालिकामा स्केट जोन सञ्चालन

रामपुर (पाल्पा) । पाल्पा जिल्लामै पहिलो पटक रामपुर नगरपालिकामा स्केट जोन सञ्चालनमा आएको छ ।

रामपुर–५, बेझाँड राममन्दिर चोकमा रामपुर स्केट जोन सञ्चालनमा आएको हो । युवाहरुको संयुक्त लगानीमा निर्माण सुरु भएको स्केट जोन निर्माणसंगै बुधबार देखि शुभारम्भ गरिएको हो ।

बालबालिका र युवा पुस्तामा पछिल्लो समय लोकप्रिय स्केट खेलको विकाससँगै, पर्यटन तथा नगरको विकासमा टेवा दिने उद्देश्यका साथ इन्डोर स्केट जोन सञ्चालनमा ल्याइएको सञ्चालक अशोक श्रेष्ठले जानकारी दिए । ६० लाखको लगानीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार इण्डोर स्केट जोनसँगै कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याइएको उनले बताए ।

स्केट सिकाउनका लागि दुई जना दक्ष प्रशिक्षकको व्यवस्था गरिएको सञ्चालक सन्तोष पोखरेलले बताए । उनका अनुसार जोनमा स्केटको अभ्यास गराएर राम्रा प्रतिभाको पहिचान गरी प्रतिस्पर्धामा जाने वातावरण सिर्जना गरिने उनको भनाई छ ।

सञ्चालक चन्द्रकुमार श्रेष्ठले स्केट जोनमा खेल्न आउनेहरुका लागि सुरक्षाका सामग्रीको पूर्ण व्यवस्था गरिएको बताए । खेल्ने क्रममा चोटपटक लाग्न सक्ने भएकाले सोही अनुसार दुर्घटना विमा रहेको छ ।

स्केट जोनको सञ्चालकका ज्येष्ठ अभिभावक प्रेमकुमारी श्रेष्ठ र हरिप्रसाद पोखरेलबाट शुभारम्भ भएको छ । ६ जना युवाले करिब दुई रोपनी जग्गा भाडामा लिएर पूर्वाधार निर्माण गरी स्केट जोन सञ्चालन गरेका हुन् । जसमा ६ हजार स्क्वायर फुटको इण्डोर स्केट जोन निर्माण गरिएको छ ।

स्केट जोनसंगै क्याफे सञ्चालनको समेत तयारी भइरहेको सञ्चालकको भनाई छ । अहिले न्यूनतम शुल्कमा खेल्नको लागि व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.