धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन

जनकपुरधाम । धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पाादन गत वर्षको तुलनामा अत्यधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको छ ।

जिल्लाका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा गरिएको आँप खेतीबाट चालु आर्थिक वर्षमा २३ हजार एक सय मेट्रिकटन आँप उत्पादन भएको एक तथ्याङ्कले जनाएको छ । विभिन्न प्रजातीका रु २३ करोड १० लाख मूल्य बराबरको आँप उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र धनुषाका अनुसार यस जिल्लामा चार हजार हेक्टर जमिनमा आँपको रुख रहेकामा २३ सय हेक्टर जमिनमा उपरोक्त परिमाणमा आँप उत्पादन भएको जनाइएको छ ।

गत आर्थिक वर्षमा पनि किसानले सोही अनुपातमा आँपको खेती गरेको थियो । एक वर्ष आँप फल्ने र अर्को वर्ष आँप नफल्ने प्राकृतिक कारणले गत वर्ष आँपको उत्पादन अत्यन्त कम भएको थियो । त्यसकारण आँपको उत्पादन कम हुँदा महँगो भएको तथा भारतीय बजारबाट आयात गर्नुपर्ने बाध्यता रहेको थियो ।

यस वर्ष आँपको रुखमा लटरम्म फल लागेकाले व्यापारी किसानको आँप बगँैचामा गएर आँपको ठेक्का लिने गरेका छन् । जिल्लामा करिब ७५ प्रतिशत किसान आँपको खेती गर्ने गरेका छन् भने २५ प्रतिशत किसान आफूलाई खानका लागि खेत तथा बारीमा आँपको रुख लगाउने गरेको सो केन्द्रको कार्यालयले जनाएको छ ।

धनुषामा आँपले व्यावसायीक रुप लिएपछि उत्पादन भएको आँपको कारोबारमा साना तथा ठूला करिब १० हजार व्यापारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । यसपटक हुरी, असिना, पानी र झरी नआएकाले आँपलाई क्षति नभएको हो । जिल्लामा वटेश्वर गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका र धनुषधाम नगरपालिका लगायतका स्थानमा व्यावसायिक रुपमा आँप खेती भइरहेको छ ।

यहाँ उत्पादित आँप हेटाँैडा, बुटवल, नारायणघाट तथा काठमाडौं लगायतका अन्य सहर तथा भारतीय बजारमा समेत बिक्री हुने गरेको छ । ज्ञानकेन्द्रले आँप उत्पादन गर्ने किसानलाई समय–समयमा प्राविधिक सहयोग, सल्लाह, कीटनाशक औषधिलगायत सहयोग गर्ने गरेको केन्द्रका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिए ।

किसानले आँप खेती गरी बढी आर्थिक लाभ लिन थालेपछि जिल्लामा रहेका नर्सरीबाट आँपको बिरुवा बिक्रीसमेत अत्यधिक बढ्न थालेको छ । यहाँका किसानले मालदह, बम्बई, दशहरी, कलकतिया, वैशाली, आम्रपाली, नकुअवा लगायतका आँप खेती गर्ने गरेको केन्द्रले जनाएको छ । चैतको दोस्रो हप्तादेखि हालसम्म नेपाल–भारत सीमा भिटामोडबाट रु ६८ लाख मूल्य बराबरको एक लाख १४ हजार ३२१ किलो आँप जनकपुर आयात भएको पलान्ट क्वारेन्टाइन कार्यालय भिटामोडका प्रमुख किशोर यादवले बताए । रासस

lcci
You might also like

Comments are closed.