स्याङ्जा गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन

पोखरा । तनहुँको भिमादमा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियन भएको छ । तेस्रो संस्करणमा समेत च्याम्पियन भएको स्याङ्जा यो पटक पनि १० स्वर्ण, ३ रजत र १० काश्यसहित शिर्षस्थानमा रहँदै च्याम्पियन हुन सफल भएको होे ।

प्रतियोगितामा कास्की ९ स्वर्ण,५ रजत र ४ काश्यसहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ काश्य पदकसहित तेस्रो हुन सफल भएको छ । प्रतियोगितामा पुरुषतर्फ दिपाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सर्वोकृष्ट हुने थापा र बुढा दुवैले प्याट्रन र स्पाईरिङ गरि २र२ स्वर्ण पदक प्राप्त गरेका हुन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी तेक्वान्दो संघको सहआयोजनामा भएको प्रतियोगिताको समापन गर्दै भिमाद नगरपालिकाका प्रमुख ददिराम सुवेदीले भिमादमा प्रदेश स्तरिय प्रतियोगिताले यस स्थानको प्रर्वद्धनमा टेवा पुगेको जनाउदै आउदो नयाँ आर्थिक बर्ष खेल र खेलकुदको विकासका लागि बजेट विनियोजित गर्ने प्रतिवद्धता जनाए ।

सोही अवसरमा नेपाल आईटिएफ तेक्वान्दोका केन्द्रिय महासचिव घमबहादुर थापाले पछिल्लो समय खेलकुद व्यक्ति, समाज हुदै राज्यलाई नै रुपान्तरण गर्ने सम्पत्तिको रुपमा ग्रहण गरिएको बताउदै यस क्षेत्रको थप विकासका लागि राज्य स्तरबाटै नीतिगत तथा दिगो विकासका लागि पहल हुन जरुरी रहेको बताए ।

प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य गरी कुल १४४ पदकका लागि पुरुषतर्फ स्पाईरिङतर्फ २० देखि ८५ केजी तौल समूह र महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा महिला तथा पुरुष प्याट्रनतर्फ हरियो, निलो र रातो कलर वेल्ट तथा प्रथम, द्धितीय र तृतीय डान समूहमा प्रतिस्पर्धा भएको थियो ।

नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकीका उपाध्यक्ष तथा तनहुँ जिल्ला अध्यक्ष आकाशचन्द्र घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रतिक घर्तीमगरले गरेका हुन् ।

 

You might also like

Comments are closed.