आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीको सातौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्केटमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा भएको हो ।

सभाले कम्पनीले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सम्बन्धीत अनुसूचि सहितको वित्तीय विवरण माथि छलफल गरी साधारण सभाले सर्वसम्मत पारित भएको छ ।

सभाले आ.व. २०८०/०८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम एसएआर एशोसिएट्सलाई वाह्य लेखापरिक्षक नियुक्त गरी उसको पारिश्रमिक समेत पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्बको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५७९ रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ ।

सभामा शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको पदमा रबिनकुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् । सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भएवापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्ताव समेत पारित गरेको छ ।

बोनस शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्व रुपैयाँ मात्र कायम हुने भई हाल कायम कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकाले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको मिति २०८० पुस ४ गते बसेको सञ्चालक समितिको १८० औँ बैठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक शेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनीबाट सञ्चालकको नियुक्ती गरेकोमा सो नियुक्ती अनुमोदन गरेको छ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९/०८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गरेको छ ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने बताए ।

 

 

You might also like

Comments are closed.