रामपुरमा न्यायिक समितिसंग प्रहरी साझेदारी सम्पन्न

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिका वडा नं. ७ पाल्पामा न्यायिक समितिसंग प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनमा समाजमा हुने विभिन्न हिंसा तथा अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको हो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले समाजमा घरेलुहिंसा व्याप्त रहेको भन्दै यसको न्युनिकरण र नियन्त्रण गर्न आवश्यक रहेको बताए । विभिन्न विकृति विसंगतीका कारण हिंसा बढेको भन्दै यसले मानिसलाई विचलित बनाई विभिन्न घटना समेत हुने भएकाले यसका लागि सबै सचेत हुनुपर्ने बताए ।

प्रविधिको प्रयोग र विभिन्न सामाजिक सञ्जालले विकृतिसंगै हिंसा फैलाइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नगर प्रमुख थापाले शान्त ,समुन्नत, हिंसा एवं अपराधरहित समाज निर्माणका लागि सबैमा सकारात्मक सोँचको खाँचो रहेको औँल्याए । यस्तै उपप्रमुख बालकुमारी थापाले नगरपालिकालाई हिंसामुक्त बनाउनका लागि प्रतिबद्ध भएर लागेको बताइन् । यसका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले उल्लेख गरिन् ।

वडा नं.७ का वडा अध्यक्ष दोवराज तिवारीले अपराध र हिंसा मानविय व्यवहारका कारण हुने भन्दै समाजिक सञ्जाल र प्रविधिको प्रयोगमा सचेत हुनुपर्ने बताए । आधारभूत माध्यमिक विद्यालय रामपुर ७ डुम्रीगाँउका प्रधानाध्यापक रुपनाथ गौतमले विद्यार्थीहरुमा सचेतनाको अभावका कारण बाल विवहा गर्ने समस्या रहेको र सोही कारण विभिन्न हिंसा निम्तिएको भन्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउँछन् ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं.७ का मेलमिलापकर्ता तिलबहादुर श्रेष्ठ र टोल विकास संस्थाहरुको तर्फबाट मनोरथ भट्टराईले बोल्दै हिंसा र अपराध नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरिक्षक शालिकराम खनालले विभिन्न प्रकारका हिंसा, यसको कानुनी उपचारको व्यवस्था, अपराध ,बाल विवहा लगाएतका विषयमा सहजिकरण गरेका हुन् ।

धर्मोदय दशअवतार साँस्कृतिक बाल समुहको भवन साउनेधारमा भएको कार्यक्रम रामपुर नगरपालिकाका न्यायिक समिति सदस्य तथा वडा नं. ७ का सदस्य खेमराज अधिकारीको स्वागत र न्यायिक समिति सचिवालय सचिव पार्वती परियारको सञ्चालनमा सम्पन्न भएको हो ।

You might also like

Comments are closed.