बालश्रमविरुद्धको विश्व दिवसको अवसरमा सचेतना

पोखरा । विश्व बालश्रमविरुद्धको दिवसको अवसरमा बुधबार पोखरामा श्रमिक शिक्षा विषयक सचेतना कार्यक्रम आयोजना गरिएको छ । अंग्रेजी पात्रो अनुसार जुन १२ लाई बालश्रविरुद्धको दिवसको रुपमा मनाइन्छ।

‘बालश्रम अन्त्यको लागि सँगसँगै प्रतिवद्धता’ भन्ने नाराका साथ पोखरा उद्योग वाणिज्य संघ, श्रम तथा रोजगार कार्यालयको संयुक्त आयोजना, राष्ट्रिय बालअधिकार परिषद, बालअधिकारका लागि नागरिक समाजसँगको समन्वय र किडासाको सहयोगमा सो कार्यक्रम आयोजना भएको हो ।

सचेतना कार्यक्रम बढी मात्रामा श्रमिक बालबालिका प्रयोग हुने व्यवसायका रोजगारदाता, श्रमिक बालबालिका तथा सरोकारवाला निकायलाई लक्षित गरी आयोजना गरिएको हो । पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुमाल रहेकी हुन् ।

सो कार्यक्रममा श्रम तथा रोजगार कार्यालयका कारखाना निरीक्षक इन्जिनियर बलराम कुसवाहा र राष्ट्रिय बालअधिकार परिषदका प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले श्रम कार्यालयबाट गरिने काम तथा श्रम ऐनका विषय र बालश्रम, कानूनी प्रावधान तथा व्यवहारिक पक्षबारे जानकारी गराएका हुन् ।

कार्यक्रममा सहभागीले पोखरामा बालबालिकाको अवस्था, व्यवहारिक पक्ष तथा कानूनी पक्षमा मेल नखाने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोर्कण कार्कीको स्वागतबाट सुरु भएको कार्यक्रममा शान्तिका लागि नागरिक समाजका अध्यक्ष बिना सिलवाल, श्रम तथा रोजगार कार्यालयका बरिष्ठ श्रम अधिकृत सुरेश ढकाल लगायतले बालश्रम अन्त्यका लागि सरोकारवाला सक्रिय रहनुपर्ने बताएका छन् ।

यसैबीच बालअधिकारका लागि नागरिक समाजले बुधबार नै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा र श्रम तथा रोजगार कार्यालय पोखराका बरिष्ठ श्रम अधिकृत सुरेश ढकाललाई बालश्रम अन्त्यका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सोही अवसरमा पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रमार्फत पोखरा १७ मा रहेको पार्दी माध्यमिक विद्यालय र पोखरा ८ मा रहेको राम आधारभूत विद्यालय सिमलचौरमा अध्ययन गर्ने तीन सय बालबालिकालाई बालश्रमका विषयमा सचेतना कार्यक्रम गरिएको बताइएको छ ।

You might also like

Comments are closed.