नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न

काठमाडौं । नेपालले विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसिसि) सम्पन्न गरेको छ ।

नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खाली सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा सम्मेलन गरिएको हो ।

डब्लुएमसिसिले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्व सम्बन्धी महत्वपूर्ण मुद्दाको समाधानको लागि सरकारी कर्मचारी, उद्योग व्यवसायी, वातावरणविद् र नागरिक अगुवालाई एकसाथ ल्याएको छ ।

प्रमुख अतिथि तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले वृक्षारोपण गरी कार्यक्रम उद्घाटन गरेका हुन् । मटेरियल रिकभरी फेसिलिटीको अनावरण र ‘एबिसी फर क्लाइमेट चेन्ज’ पुस्तकको विमोचन गरिएको छ । सम्मेलनको समापनमा भने वातावरण तथा वनमन्त्री नवलकिशोर साह सुडीले मन्त्रालयले जलवायु चुनौतीका लागि चालेका आवश्यक पहलका बारेमा जानकारी दिए ।

कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपालको लागि एक कोशेढुङ्गा रहेको यस सम्मेलनले हामीले सामना गर्नु परेका वातावरणीय चुनौतीको दिगो समाधानहरू खोज्ने द कोका–कोला फाउन्डेसनको साझा प्रतिबद्धतालाई उजागर गरेको बताए ।

सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिका बारेमा स्थानीय सरकारी अधिकारी र उद्योगी बीच संवाद गरिएको छ । ललितपुर, धनगढी, धनकुटा, बूढानीलकण्ठका प्रमुख र चन्द्रागिरिका उपप्रमुखको सहभागी थिए । कार्यक्रमको सञ्चालन टफ टकका आयोजक दिलभूषण पाठकले गरेका हुन् ।

यस सम्मेलनले सर्कुलर अर्थव्यवस्थालाई प्रवर्धन गर्न फोहोरलाई उपयोगी स्रोतमा परिणत गर्ने उपायको बारेमा छलफल गरिएको छ । छलफलमा कार्बन उत्सर्जन, प्लास्टिक प्रदूषण, काठमाडौंको वायु प्रदूषण, सगरमाथा लगायत हिमालहरुमा देखा परेको जलवायु परिवर्तनको असर जस्ता विषयमा छलफल भएको छ । साथै जिआइजेटले सम्मेलनमा प्रस्तुति दिँदै फोहोर व्यवस्थापनका नौला विचारहरू र पेरिस सम्झौतामा नेपालको प्रतिबद्धतालाई उजागर गरेको छ ।

वुमन फर ह्युमन राइट्सकि प्रेसिडेन्ट कविता पाण्डेले सम्मेलनले जलवायुका असर कम गर्ने कार्यमा भाग लिन चाहने समुदायलाई थप उर्जा प्रदान गरेको र वातावरण संरक्षणमा महिलाको सहभागीतालाई पनि सशक्त बनाएको बताइन् ।

प्रतिनिधि सभा सदस्य सोबिता गौतम, तोसिमा कार्की र उदय राणाले वातावरणीय चुनौतिको सामना गर्न साझा प्रयासको महत्वपूर्ण आवश्यकतालाई जोड दिएका छन् । नेपालमा फोहोर व्यवस्थापन र जलवायु सम्बन्धी कार्यलाई अगाडि बढाउने व्यापक चासो र प्रतिबद्धतालाई उजागर गर्न ३३ जिल्ला र ५ देशका गरी ६ सय संस्थाका करिब एक हजार प्रतिनिधि सम्मेलनमा सहभागी थिए ।

डब्लुएमसिसिले सरकारी कर्मचारी, सांसद, कूटनीतिज्ञ र उद्योलाई अग्रणीलाई एकताबद्ध गर्न राष्ट्रिय मञ्च प्रदान गरिएको छ । यसले नेपालको फोहोर व्यवस्थापन र जलवायुको एजेन्डालाई अगाडि बढाउन सहयोग गर्नुका साथै नीतिगत संवादलाई पनि बढावा दिन सफल भएको छ ।

सम्मेलन विभिन्न सरोकारवालाबाट ठोस प्रतिबद्धताहरु सहित समापन भएको छ । साथमा भविष्यका लागि एक स्पष्ट रोडम्याप सेट भएको आयोजकहरुले बताए । सम्मेलनमा प्रस्तुत भएका सहयोग र नवीन विचारले फोहोर व्यवस्थापन र वातावरणीय नीतिहरूमा उल्लेखनीय सुधारको लागि आधार पनि तयार पारेको छ ।

You might also like

Comments are closed.

Secret Link