रामपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । पूर्ण खोपको मात्रा छुटेका बालबालिकालाई खोप दिएसंगै नगरपालिकालाई बुधबार पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

रामपुरलाई घोषणा गरेसंगै जिल्लाका १० वटै पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले रामपुर नगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्दै उनले स्वास्थ्य र शिक्षामा गरिएको लगानी तत्काल नदेखिने भएपनि बालबालिकाको भविष्यमा यसको महत्वपूर्ण प्रभाव रहने बताए । उनले भौतिक संरचनासंगै स्वास्थ्य र शिक्षामा लगानी वृद्धि गर्न आग्रह गर्दै पछिल्लो समय सर्ने रोग भन्दा पनि नसर्ने रोगको सङ्क्रमण बढ्दै गएको भन्दै यसतर्फ सचेत हुने समय आएको बताए । राज्यले खोपको लागि ठूलो धनराशी खर्च गर्दै आएको बताउँदै खोपलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले दिर्घकालिन विकास भनेको स्वास्थ्य र शिक्षामा लगानी भएको भन्दै नगरपालिकाले विगतको वर्षको तुलनामा थप कार्यक्रम सञ्चालन गर्ने बताए । पूर्ण खोप सुनिश्चितता घोषणा गर्नका लागि सहयोग गर्ने सबैमा धन्यवाद दिए । पूर्ण खोप सुनिश्चिचताको लागि जिम्मेवारीको रुपमा लिएर निरन्तर रुपमा लाग्न स्वास्थ्यकर्मीलाई अनुरोध गरेका छन् । उपप्रमुख बालकुमारी थापाले सामाजिक विकास विना पूर्वाधार विकासले सार्थकता नपाउने भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरपालिका लागि परेको बताइन् ।

खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्रकुमार गिरिले पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको र संघियता पश्चात २०७९ देखि पाल्पालाई निरन्तर तेस्रो वर्षसम्म पूर्ण खोप सुनिश्चित जिल्ला घोषण गर्न सफल भएको जानकारी दिए । जिल्लालाई औपचारिक रुपमा यस वर्ष घोषणा गर्न बाँकी रहेपनि रामपुर संगै १० वटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको उनी बताउँछन् ।

रामपुर नगर प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष कपिलबहादुर खाँणले पूर्ण खोप पाउनु बालबालिकाको अधिकार भएकाले सुनिश्चितताका लागि सबै जना सहकार्य गर्दै लाग्नुपर्नेमा जोड दिए । नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिना सम्मका ६०८ र १६ महिना देखि ५९ महिना सम्ममा २१ सय ४० जनाले पूर्णखोप प्राप्त गरेको तथ्याङ्क रहेको बताए । बैशाख महिनामा महिला स्वास्थ्य स्वंसेविका, स्वास्थ्यकर्मी परिचालन गरी सबै वडामा खोज र खोप अभियान सञ्चालन गरिएकोमा एकजना बालिका नियमित खोप लगाउन छुटेको पाइएको र अहिले नियमित खोपको मात्रा पुरा गर्ने क्रममा रहेको घिमिरेले बताए ।

नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रम, स्वास्थ्य शाखा प्रमुख घिमिरेको स्वागत र गाँडाकोट स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेखको सञ्चालनमा भएको हो । कार्यक्रमको अवसरमा नगरभित्रका १६ वटा स्वास्थ्य संस्थामध्ये गाँडाकोट स्वास्थ्य चौकी र गेझा स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । उमेरहदका कारण अवकाश प्राप्त दर्छा स्वास्थ्य चौकीका सिनियर अहेव कृष्णप्रसाद वाग्लेलाई सम्मानसहित विदाई गरिएको छ ।

 

 

 

lcci
You might also like

Comments are closed.