रामपुरमा नीति तथा कार्यक्रमका लागि सरोकारवालासंग सुझाव सङ्कलन

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमका लागि सरोकारवाला संग छलफल सहित सुझाव सङ्कलन गरेको छ । नगरपालिकाले सल्लाहकार र पत्रकारहरु संग नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गरेको हो ।

छलफलमा सहभागीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि र पर्यटनमा जोड दिनुपर्ने बताएका छन् । स्वरोजगार र आर्थिक समृद्धिका लागि नगरको पर्यटन क्षेत्रको पहिचान संगै विस्तार र विकासमा जोड दिन सुझाएका छन् । दिगो विकास र समृद्धिको आधार नै कृषि र पर्यटन रहेको बताएका छन् ।

नगरपालिकाका पूर्व उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यले पर्यटन लगायत अन्य व्यवसायको प्रवद्र्धन गर्ने नीति अबलम्बन गर्न आवश्यक रहेको औँल्याइन् । उनले धार्मिक तथा पुरातात्विक महत्व बोकेका क्षेत्रको विकाससंगै पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताइन् । नगरपालिकाका सल्लाहकार सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य विष्णुमाया ढकालले पर्यटनको विकास संगै राजश्व वृद्धि हुने क्षेत्रमा लगानी बढाउन सुझाव दिदै हरेक विद्यालयमा प्रदान गरिने शिक्षालाई व्यवहारिक बनाई फरक शिक्षा नीति लागु गर्न आग्रह गरिन् ।

कार्यक्रममा वडा नं १ का निवर्तमान वडाध्यक्ष मित्रलाल कंडेलले दिगो विकास र आवश्यकताको पहिचान गरेर अगाडी बढ्न आग्रह गर्दै वातावरण अनुसारको कृषि खेति प्रणाली लागु गर्न आवश्यक रहेको बताए । वडा नं ३ का निवर्तमान वडाध्यक्ष दिनेश खनालले कृषिमा आधुनिकिकरणको नीति अबलम्बन गर्न सुझाव दिएका छन् । वडा नं ५ का निवर्तमान वडाध्यक्ष हिमाल मल्लले रोजगार सिर्जना गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

वडा नं ८ का निवर्तमान वडाध्यक्ष बोमबहादुर नामजालीले रामपुरको महिमालाई जोड दिदै पर्यटन प्रवद्र्धनको नीति लागु गर्न आवश्यक रहेको उल्लेख गरे । वडा नं १० का निवर्तमान वडाध्यक्ष लिलबहादुर गाहाले पहुँच मार्गलाई प्राथमिकतामा राखेर योजना सञ्चालन गर्न सुझाव दिए । रामपुर नगरपालिकाका सल्लाहकार फणेश्वर गौतमले नगरको विकासका लागी तीनै तहको सरकारबीच समन्वय गर्दै कृषि र पर्यटनको विकास गर्न आवश्यक रहेको बताएका छन् ।

नगर सल्लहाकार रामप्रसाद गैरेले आर्थिक समृद्धिसंगै आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् । छलफलमा नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य सुनिल कार्कीले रामपुर अनेकन सम्भावना बोकेको नगरपालिका भएको भन्दै प्रचार प्रसार संगै समुन्नत विकास गर्न आग्रह गरेका छन् ।

नगर प्रमुख रमणबहादुर थापाले नीति तथा कार्यक्रम राम्रो भए उपलब्धि हासिल हुने भन्दै आवश्यकता अनुसार सङ्कलित सुझावलाई कार्यान्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगरपालिकाको आर्थिक समृद्धि, रोजगारी सिर्जना, कृषि र पर्यटनको विकाससंगै समुचित विकास गर्ने नीति तथा कार्यक्रम ल्याउने नगर प्रमुख थापाले बताएका छन् ।

नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले गरेका हुन् । नगरपालिकाको कार्यालयमा भएको छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा नगरपालिकाका सल्लाहकार र पत्रकार लगायत सहभागी थिए ।

 

You might also like

Comments are closed.