तरबुजाखेतीबाट मनग्य आम्दानी

घोराही (दाङ) । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २६ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् ।

घोराही उपमहानगरपालिका–७ घुस्रामा ती युवा मिलेर बबई नदी किनारमा तरबुजाखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । विगतमा बालुवैबालुवाले उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको किसान खड्का बताउँछन् ।

कृषि विषय अध्ययन गरेका उनी आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने अठोट राखेका छन् । उनी भन्छन्, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, एकजना साथी थपिएपछि अहिले दुईजना मिलेर घोराहीमा व्यावसायिक तरबुजाखेती पनि सुरु गरेका हौँ ।” यसबाट राम्रो आम्दानी भइरहेको छ । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत व्यवसाय गर्दै आएका छन् ।

घुस्रामा चार बिघा र झिँगौरामा नौ कठ्ठा जग्गा रु ५० हजार तिर्ने गरेर तीन महिना अवधिको लागि जग्गा भाडामा लिएर तरबुजा खेती गरिरहेका छन् । अहिले सरस्वती र विशाला जातको तरबुजा रु ५० किलोका दरले र आरोही रु ७० किलोका दरले बिक्री गर्दै आइरहेको अर्का किसान वीरेन्द्र वलीले बताएका छन् । अहिले दैनिक सात–आठ सय किलो बिक्री हुन्छ । हालसम्म १४ हजार किलो बिक्री गरिसकेको उनले जानकारी दिए । तीन महिनाको अवधिमा रु १० लाखको कारोबार गर्ने र आधाभन्दा बढी रकम बचत गर्ने लक्ष्य रहेको उनले बताए ।

“सोचेभन्दा राम्रो आम्दानी भइरहेको छ, अरुको देशमा जानुभन्दा स्वदेशमै आत्मनिर्भर हुनका लागि कृषि पेसा रोजेको हुँदा यसैलाई निरन्तरता दिने वली बताउँछन् । केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य किसानलाई सहज हुनेछ । कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको उनले बताए ।

दाङ एग्रोमार्ट कृषि फार्ममा तरबुजा किन्न पुगेका घोराही उपमहानगरपालिका–१४ निवासी अर्जुन गौतम गर्मीको समयमा यसको महत्व धेरै हुने भएकाले खान मन लागेको समयमा यही आएर लैजाने गरेको बताउँछन् । यहाँ आएर लैजाँदा ताजा, जैविक पाइने हुँदा स्वास्थ्यलाई फाइदा पुग्ने उनले बताए । बाहिरी देशबाट आएको खानुभन्दा आफ्नै गाउँठाउँमा उत्पादित वस्तु खान अन्य नागरिकलाई पनि उनले आग्रह गरे ।
यसअघि किसान वीरेन्द्र खड्काले घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्राबेरीखेतीबाट रु १४ लाख बढीको कारोबार गरेका थिए । खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्न सके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा किसानले दिएका छन् । रासस

lcci
You might also like

Comments are closed.