कुरिलो खेतीबाट एकै याममा ७ लाख मुनाफा

त्रिवेणी (नवलपरासी) । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलो खेतीबाट एकै याममा रु ७ लाख मुनाफा आर्जन गरेका छन् ।

मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत ३ वर्षदेखि कुरिलो खेती गरेका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका हुन् । सबै खर्च कटाएर रु ७ लाख नाफा कमाएको उनले बताए । हाल उनले ५० कठ्ठामा कुरिलोखेती गरेका छन् ।

“यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ”, उनले भने । दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनी बताउँछन् । किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौंमा खपत हुने गरेको छ ।

गत वर्ष ३० कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गरेका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताए । गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उनले बताए । हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी रु ३०६ र थोकमा मूल्य रु २५० छ । लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्दै आएका छन् ।

विगत ५ वर्षदेखि उनी व्यावसायिक खेतीमा लागेका हुन् । उनको बारीमा कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उनको भनाई छ । रासस

lcci
You might also like

Comments are closed.