पर्यटन मेला सम्पन्न, ५ हजार बढीले गरे अवलोकन

काठमाडौं । पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको दुईदिने नेपाल अन्तर्राष्ट्रिय पर्यटन मेला शनिबार सम्पन्न भएको छ ।

समिट इभेन्ट्स मार्केटस्को आयोजना तथा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको सहयोगमा आयोजित मेला शुक्रबारदेखि सुरु भएको थियो । मेलाको समापन गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालको पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताइन् ।

उनले काठमाडौंभित्रको सम्पदा र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा महानगरपालिकाको सधँै साथ र सहयोग रहने प्रतिबद्धता जनाइन् । उपप्रमुख डङ्गोलले मेलामा सहभागीलाई आ–आफ्नो देशमा गएर नेपालको पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराउन आग्रह गरिन् ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न मेलाले थप सहयोग पुगेको उल्लेख गरेका छन् । उनले निजी क्षेत्रको प्रयासमा सराहनीय काम भएको बताए ।

मलेसियाको मलेसिया पर्यटन बोर्ड र भारतको बिहार पर्यटन बोर्डकोसमेत सहभागिता रहेको उक्त मेलामा १६ देशका १५० पर्यटन व्यवसायीका स्टल रहेको थियो । दुई दिनसम्म चलेको मेला ५ हजारभन्दा बढीले अवलोकन गरेको समिट इभेन्ट्स मार्केटसका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिए ।

मेलामा पर्यटनसँग सम्बन्धित समूहगत छलफल भएको थियो । निजी क्षेत्रको सक्रियतामा पहिलो पटक गरिएको मेला सफल रूपमा सम्पन्न भएसँगै आयोजकले आगामी वर्षको मे ३० र ३१ मा दोस्रो संस्करण आयोजना गर्ने घोषणासमेत गरेको छ । रासस

lcci
You might also like

Comments are closed.