कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी

दमक (झापा) । कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन् ।

प्रदेशका कूल १७३ सामुदायिक विद्यालयमा प्रदेश सरकारले नर्सिङ सेवा कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमको माग गर्ने विद्यालयको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । तत्कालीन अवस्थामा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको यो कार्यक्रम प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना भएसँगै २०७८ सालदेखि प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत सञ्चालनमा छ ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार सुरुमा यो कार्यक्रम प्रत्येक पालिकाका एक÷एक विद्यालयमा सञ्चालन गर्न ल्याइएको थियो । तर पछिल्लो समय एक हजारभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयमा नर्सिङ कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था छ । यो व्यवस्थासँगै धेरै विद्यालयबाट यो कार्यक्रम माग भई आएको उनी बताउँछन् ।

चालु आर्थिक वर्षमा मात्रै प्रदेशका विभिन्न १३ विद्यालयमा यो कार्यक्रम सञ्चालनका लागि स्वीकृत भइसकेको निर्देशनालयका प्रमुख बस्नेतले जानकारी दिनुभयो । यसअघि १६० विद्यालयमा मात्रै रहेको नर्सिङ सेवा कार्यक्रम चालु आर्थिक वर्षदेखिनै १७३ विद्यालयमा लागू गरिएको उनको भनाइ छ । प्रमुख बस्नेतले भने “यही आर्थिक वर्षभित्र कोशी प्रदेशका १७३ विद्यालयमा यो कार्यक्रम लागू हुँदैछ । माग आउने क्रम बढ्दै गएको छ ।”

विद्यालयमा विशेष गरी किशोरीले आफ्नो स्वास्थ्य समस्याका कारण बीचैमा पढाइ छाड्ने समस्यालाई मध्यनजर गरेर विद्यालयमा नर्सिङ सेवा कार्यक्रम सञ्चालन गरिएको र यसको सकारात्मक प्रभाव परेको प्रमुख बस्नेतको भनाइ छ । यससँगै अस्वस्थकर र स्वास्थ्यमा असर पुग्ने खानेकुराको लत लाग्नबाट जोगाउन र विद्यार्थीमार्फत समुदायमा जनचेतनाका कार्यक्रम चलाउन विद्यालय नर्सिङ कार्यक्रमबाट मद्दत पुगेको उनले बताएका छन् ।

स्वास्थ्य मन्त्रालय, स्थानीय तह र विद्यालयबीच त्रिपक्षीय सम्झौता गरी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने गरिएको छ । झापाको कमल गाउँपालिका–५ स्थित मङ्गलमय माविमा नर्सिङ सेवासँगै स्वास्थ्य इकाइको नेतृत्व गरिरहनुभएकी नर्स मुना अधिकारीले नर्सिङ कार्यक्रमका अतिरिक्त स्वास्थ्य चेतनासम्बन्धिका अन्य जनचेतनामूलक कार्यक्रम पनि गर्ने गरिएको बताए । स्वास्थ्य सम्बन्धिका राष्ट्रिय दिवसका सन्दर्भमूलक कार्यक्रम, बालबालिकालाई लगाइने खोपलगायतका स्वास्थ्य कार्यक्रमलाई लक्षित गरेर विद्यालय तहमा पनि विभिन्न कार्यक्रम गर्ने गरिआएको उनले स्पष्ट पारे । उक्त विद्यालय सो कार्यक्रम सञ्चालन गर्ने जिल्लाकै पहिलो हो ।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराको लेखाजोखा, नियमित स्वास्थ जाँच, प्राथमिक उपचारको व्यवस्था, अभिभावक–बालबालिकालाई स्वास्थ्य सुरक्षाका विषयमा समेत जानकारी गराउने कार्यनियमित रुपमा हुदै आएका छन् । मङ्गलमय माविका निमित्त प्रधानाध्यापक डम्बरुप्रसाद पोखरेलले नर्सिङ सेवाका माध्यमबाट विशेषगरी किशोरीलाई पर्ने स्वास्थ्य समस्या समाधान गर्न सहज भएको उल्लेख गरेका छन् । यो कार्यक्रमबाट विद्यार्थीको नियमित स्वास्थ्य जाँच मात्र नभएर विषयगत पठनपाठनमा समेत फाइदा पुगेको उनको भनाइ छ । रासस

You might also like

Comments are closed.