बागमती भ्रमण वर्ष २०२४, ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोसनल र्याली सुरु

काठमाडौं । बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोसनल र्याली सुरु भएको छ ।
बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा शुरु भएको सो र्यालीको व्यवस्थापन नासा फाउन्डेसनले गरेको हो ।
र्यालीका सहभागीले बागमती प्रदेशका विभिन्न जिल्लामा भएका पर्यटकीय गन्तव्य तथा धार्मिक स्थलहरुको अध्ययन गर्ने र यो क्षेत्रमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजममार्फत गर्न सकिने आवश्यक कार्यको बारेमा विवरण सङ्कलन गर्नेछन् ।

सोमबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरबाट प्रारम्भ भएको र्यालीमा तीन वटा गाडी र १३ जना विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको छ । नासा फाउन्डेसनका अध्यक्ष कृष्णसिंह बस्नेत र नासा नेपालका अध्यक्ष दशरथ रिसालले र्यालीमा सहभागीलाई विदाई गरेका हुन् ।

सो अवसरमा अध्यक्षद्वयले सहभागीले पर्यटकीय क्षेत्रको बारेमा राम्रो अध्ययन गर्ने र यसबाट बागमती प्रदेशमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गर्दै कार्य सफलताको शुभकामना दिएका छन् । पहिलो दिन नगरकोट, दोलालघाट, सुकुटे बीच, मुढे हुँदै कालिन्चोक नजिक कुरी बजार पुगेका छन् ।

आगामी दिनमा उनीहरु दोलखा भिमसेन, सिन्धुलीगढी, मकवानपुर गढी, सौराहा, त्रिशुली नदी र्याफ्टिङ, नुवाकोट दरवार, मैलुङ झरना, देवीघाट, मार्खु आदि स्थानमा पुग्नेछन् । ललितपुरको गोदावरीमा आएर र्याली समापन हुनेछ । सहभागीले सङ्कलन गरेको प्रचार–प्रसार सामाग्री, भिडियो आदि सामग्री तथा ड्राफ्ट मन्त्रालयमा प्रस्तुतिकरण गरिने र प्राप्त सुझावहरु समेटी अन्तिम प्रतिवेदन तयार गरिनेछ ।

यसबाट बागमती प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार गरिने, ड्राइभ टुरिजम र टु ह्विल टुरिङमार्फत प्रदेशको दिगो पर्यटनका लागि आधारशिला तायार पार्ने र बागमती प्रदेशका ठूला शहरबाट ड्राइभ टुरिजम र टु ह्विल टुरिङमार्फत ड्राइभ टुरिजमका गन्तव्यलाई सार्वजनिक गर्ने कार्यमा सहयोग पुग्नेछ । यस कार्यक्रमले बागमती प्रदेशमा रहेका विभित्र पर्यटकीय एवं धार्मिक स्थलको पहिचान हुनेछ ।

यसले देशको राजधानीबाट नजिकै रहेका अधिकांश पर्यटकीय स्थलको पहिचान गरी उजागर गर्न साथै प्रवद्र्धन गर्न टेवा पुग्नेछ । नजिकै रहेका तर ओझेलमा परेका पर्यटकीय स्थललाई ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ अर्थात सामान्य गाडी तथा मोटरसाइकलमै अवलोकन गर्न सकिने विषयलाई सहज तरिकाले प्रस्तुत एवं प्रवद्र्धन गरिनेछ ।

You might also like

Comments are closed.