लम्साल परिवारद्वारा रामतुलसी, दरैठाँटी र आधारभुत माविमा अक्षयकोष स्थापना

सुशीला रेग्मी

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा एकै परिवारबाट रु तीन लाख बराबरको अक्षयकोष विद्यालयमा स्थापना गरिएको छ । सामाजिक क्षेत्रमा सक्रिय विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने गरी रामपुरका तीनवटा विद्यालयमा रु तीन लाख अक्षयकोष रकम स्थापना भएको छ ।

रामपुर नगरपालिका वडा नं ६ बस्ने समाजसेवी रामप्रसाद लम्सालको परिवारले सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने विद्यार्थीको नाममा रामतुलसी नमुना मावि, दरैठाँटी मावि र आधारभुत माविमा रु एक/एक लाखका दरले रु तीन लाख बराबरको रकम विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हो ।

सो अक्षयकोषका प्रधान संरक्षक रामप्रसाद लम्सालले आफ्नी स्वर्गीय श्रीमती चुत्रकला लम्सालको सम्भmनामा जन्मदिनको अवसर पारेर अक्षयकोष स्थापना गरिदिएको बताए । स्व. चुत्रकलाका श्रीमान् रामप्रसाद, उनका छोराहरु रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल र सूूर्य लम्साल लगायतले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकलाई अक्षयकोष रकम हस्तान्तरण गरेका छन् ।

विद्यार्थीको चौतर्फी विकासका लागि पढाईका अलवा सामाजिक क्षेत्रमा राम्रो कार्य गर्ने विद्यार्थीलाई हौसला प्रदान गर्न अक्षयकोष स्थापनाका लागि सहयोग गरेको लम्साल परिवारले जनाएको छ । सो रकम लम्सालका छोराहरु डा. हरी लम्साल, बालकृष्ण लम्साल र सूूर्य लम्साल संरक्षक रहने गरी अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयमा स्थापना भएका बालमञ्च, जुनियएर रेडक्रस, स्काउट वा अन्य समितिमा रहेर उत्कृष्ट काम गर्ने एक छात्र र एक छात्रालाई छात्रवृत्ति वितरण गर्ने गरी अक्षयकोष स्थापनार्थ सहयोग गरिएको अक्षयकोषदाता एवम् रामतुलसी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् ।

“हरेक अक्षयकोष रकम जेहेन्दार, विपन्न विद्यार्थीलाई मात्र प्रदान गर्न स्थापना गर्ने गरिएको छ, अहिले सामाजिक क्षेत्रमा विद्यार्थीको सहभागीता बढ्दो छ, उनीहरुको पनि मुल्याङ्कन गरिनुपर्छ भनेर हामीले सामाजिक क्षेत्रमा उत्कृष्ट, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट गर्ने विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने गरी रामपुरका तीन विद्यालयमा अक्षयकोष रकम सहयोग गरेका हौँ” उनले भने ।

विद्यालयमा हुने अक्षयकोष रकम सबैजसो जेहेन्दार, विपन्न विद्यार्थीको शीर्षकमा स्थापना हुने गरेका छन् । जो बढी पढाईमा अब्बल छन्, जुन विद्यार्थी विपन्न छन्, ती विद्यार्थीले मात्रै विद्यालयमा स्थापित अक्षयकोषबाट छात्रवृत्ति रकम प्राप्त गरेका हुन्छन् । सामाजिक, साँस्कृतिक, खेलकुद, सरसफाई, अनुशासित लगायतका विभिन्न विद्यामा अक्षयकोष रकम स्थापना हुदैनन् ।

खेलकुद, साँस्कृतिक, अनुशासित, सरसफाई लगायत विभिन्न विद्यामा अब्बल विद्यार्थीलाई अक्षयकोषबाट छात्रवृत्ति रकम उपलब्ध गराइदैनन् । यस कार्यले विद्यार्थीको अतिरिक्त क्रियाकलाप, विद्यालयमा हुने विभिन्न प्रतिष्पर्धात्मक कार्य लगायत सामाजिक क्षेत्रमा विद्यार्थीको सक्रियता बढ्दै जाने शिक्षक तथा विद्यार्थी बताउँछन् । लम्साल परिवारले गरेको यस सहयोगले विद्यार्थीमा उत्साह थपिएको छ ।

You might also like

Comments are closed.