४५ दिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा रामपुरमा सम्पन्न

रामपुर (पाल्पा) । निःशुल्क लोकसेवा आयोग तयारी कक्षा रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको ४५ दिने लोक सेवा आयोग तयारी कक्षाको मंगलबार समापन गरिएको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले लोकसेवा आयोग पढ्न चहाने विद्यार्थीको सहजताका लागि कक्षा सञ्चालन गरिएको बताए । उनले लोक सेवा आयोग तयारीका लागि मार्गदर्शनको रुपमा कक्षा सञ्चालन गरिएको भन्दै लगनशील भएर अध्ययन गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

स्वदेशमै बसेर देश र जनताको सेवा गर्नका लागि मेहनतका साथ अध्ययन गर्न आग्रह गर्दै नगर प्रमुख थापाले उद्देश्य प्राप्तिका लागि लगनशिलता र निरन्तरताको खाँचो रहेको बताए । कार्यक्रममा उपप्रमुख बालकुमारी थापाले नगरपालिकाले लोकसेवा आयोगबारे आधारस्तम्भ तयार गर्नका लागि कक्षा सञ्चालन गरेको भन्दै सफलताका लागि मेहनतका साथ अध्ययन गर्न आग्रह गरिन् ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडाध्यक्ष कपिलबहादुर खाँणले नगरपालिकाले सञ्चालन गरेको निःशुल्क लोक सेवा आयोग तयारी कक्षाको उपलब्धी र औचित्य पूरा गर्नका लागि परिक्षामा सफल भएर राष्ट्रसेवक कर्मचारी बन्न अनुरोध गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले नगरपालिकाले लोकसेवा आयोगको बाटो मात्रै देखाएको भन्दै सफलताका लागि आफै मेहनतका साथ अगाडी बढ्नुपर्ने बताए ।

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा शहिद बहुमुखी क्याम्पस रामपुरका स्ववियु सभापति ल्याकत अली, सहभागी विद्यार्थी सुरक्षा घिमिरे, पुजा पंगेनी र संगिता बस्यालले बोल्दै लोकसेवा आयोगबारे जान्न र ज्ञानको अभिवृद्धिका लागि कक्षा सञ्चालन गरेकोमा नगरपालिकालाई धन्यवाद दिएका छन् ।

लोकसेवा आयोग तयारी कक्षा अवधिभरमा उत्कृष्ट हुने ३ जना सहभागिलाई पुरस्कृत समेत गरिएको छ । सहभागीमध्ये पुजा पंगेनी, सरिता लम्साल र आकृति भट्टराई उत्कृष्ट सहभागीको रुपमा पुरस्कृत भएका छन् । प्रमुख प्रशासकीय अधिकृत पण्डितको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्वागत प्रशासन अधिकृत तथा तालिमका संयोजक युवराज पन्थीले र सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका हुन् ।

You might also like

Comments are closed.