बन्दीपुर केबलकारको उद्धार अभ्यास सम्पन्न

काठमाडौं । तनहुँ जिल्ला स्थित बन्दीपुरहिल अन्तर्गतको बन्दीपुर केबलकारले यात्रीको आकस्मिक उद्धारको लागि यात्री उद्धार अभ्यास कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

सो उद्धार अभ्यास कार्यक्रममा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्पनी उद्योगी प्लास्टिक इन्टरनेशनल प्रा. लि., नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी र कम्पनीको आकस्मिक उद्धार दलसहित ८७ जनाको सहभागिता रहेको थियो ।

भविष्यमा घट्न सक्ने कुनैपनि कठिन भन्दा कठिन घटना वा आपतकालिन समयमा यात्री एवं पर्यटकले कुनै प्रकारको सास्ती अनुभव गर्न नपरोस् भन्ने मनसायले कम्पनीले अन्तर्राष्ट्रिय उद्धार प्रदर्शनी आयोजना गरेको दाबी गरेको छ ।

बन्दीपुर केबलकार नै यस्तो कम्पनी हो, जसले आकस्मिक उद्धारको लागि केबलकारको सिस्टममा नै अतिरिक्त मोटर एवं इन्जिन र सुरक्षा सम्बन्धी उपकरण जडान गरेर यात्री तथा पर्यटकको सुरक्षालाई प्राथमिकता दिएको छ । पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले यसअघि नै अन्तर्राष्ट्रिय गुणस्तर एवं सुरक्षण ग्यारेन्टी प्रमाणपत्र टि.यु.भी समेत प्राप्त गरिसकेको छ ।

गत जेठ ३१ गतेदेखि व्यावसायिक सञ्चालन सुरु गरेको केबलकारमा पर्यटकको राम्रो र सकारात्मक आकर्षण बढेको देखिदै गर्दा उद्धार अभ्यासका लागि बुधवारका दिन केबलकार सेवा बन्द गरिएको कार्यकारी निर्देशक शिवप्रसाद शर्माले बताए ।

You might also like

Comments are closed.