डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरा चट्टान आरोहणको केन्द्रका रुपमा विकास हुँदै गएको छ । यहाँ पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट तालिम लिइरहेका प्रशिक्षार्थीलाई चट्टान आरोहण गराउने गरिन्छ ।
प्रमाणित पर्वतीय पथप्रदर्शक उत्पादनका लागि यहाँ राष्ट्रियस्तरको ‘सर्टिफाइड कम्पोनेन्ट–२’ अन्तर्गतको तालिममा सहभागीलाई प्रशिक्षण दिइरहेको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिए । उनका अनुसार चरणबद्ध रुपमा दिइने तालिममध्ये चट्टान आरोहणको पथप्रदर्शक (गाइड) बन्न उक्त तालिम प्रमाणित गरिएको छ ।
शेर्पाले भने, “शरीरको सहनशीलतालाई विकास गर्न यहाँको हावापानी उपयुक्त रहेकाले प्रशिक्षण गराउन ल्याउने गरेका छौँ । यसपछि ‘आइस क्लाइम्बिङ’ गराएर मात्रै तालिम प्राप्त पथप्रर्दशक बनेको भनेर प्रमाणपत्र दिने गरिन्छ ।” १५ प्रशिक्षार्थीलाई चट्टान आरोहण तालिम दिइरहेको उनले जानकारी दिए ।
गाइडले मौसमको आभास गर्नुपर्ने भएकाले सिद्धगुफाको चट्टान उपयुक्त रहेको प्रशिक्षक शेर्पाले बताए । “दक्ष गाइड उत्पादनका लागि उनीहरुले मौसमको अनुभव गर्नुपर्ने हुन्छ । कहिले चिसो त कहिले तातो मौसमको सामना गर्न सक्ने गरी तालिम प्रदान गर्दा यहाँको मौसमका साथै ठाउँ पनि उपयुक्त छ । यसले गर्दा प्रशिक्षणका लागि यहाँ ल्याउने गरेका छौँ” उनले भने ।
विदेशबाट नेपालका हिमाल आरोहणका लागि आउने गरेका पर्यठकका लागि सहज रुपमा सुरक्षित पथप्रर्दशन गर्न सक्ने गरी कम्पनीले गाइड उत्पादन गरिरहेको शेर्पाले बताए । उनका अनुसार माउन्टेन गाइडका लागि चट्टान आरोहण प्रशिक्षणका साथै आइस क्लाइम्बिङ (पहिलो चरण)को तालिम प्रदान गरिसकिएको छ ।
चट्टान, ग्लेसियर, पिक क्लाइम्बिङ गर्न दक्ष भएपछि मात्रै पूर्ण रुपमा २० दिनको प्रयोगात्मक परिक्षण सकिएपछि दक्ष गाइडको प्रमाणपत्र प्रदान गरिने जनाउँदै प्रमाणपत्र प्राप्त गरेकाले गाइडका रुपमा काम गर्न सक्ने शेर्पाको भनाइ छ । मौसम, जोखिम अनुसारको सुरक्षित गाइड गर्न सक्ने गरी पर्वतीय गाइड उत्पादन हुने गर्दछ ।
काभ्रेपलाञ्चोककी लक्ष्मी तामाङ ‘कम्पोनेन्ट–२’ अन्तरगत ‘एस्पेरेन्ट गाइड’को तालिम लिइरहेको बताउँछिन् । देशैभरमा दक्ष तथा अनुभवी महिला गाइड सङ्ख्यात्मक रुपमा कम रहेकाले आफूले उक्त तालिम लिएको उनको भनाइ छ । तामाङले भनिन् “यहाँको चट्टान आरोहण गर्दा अझै सहज हुने अपेक्षा गरेको छु । तालिमका लागि यहाँको चट्टान आरोहण उपयुक्त र सजिलो छ । साहसिक काम गर्दा अन्य महिलालाई पनि प्रोत्साहन गर्न सकिने अपेक्षा छ ।”
पृथ्वी राजमार्गसँगै जोडिएको यो ठाउँमा विदेशी तथा स्वादेशी साहसिक खेलाडी समयसमयमा चट्टान आरोहणका लागि आउने गरेका छन् । हालसम्म कम्पनीले करिब एक सय भन्दा बढी दक्ष तथा अनुभवी गाइड उत्पादन गरिसकेको जनाएको छ । साहसिक खेलको प्रशिक्षणको केन्द्र बन्दै गएको विमलनगर चुनपहरा रक क्लाइम्बिङका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले बताएका छन् । साहसिक खेलका रुपमा रहेको रक क्लाइम्बिङको विकास गर्दै आयआर्जनसँग जोड्न लागिपरेको उनको भनाइ छ ।
विसं २०६४ मा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक र स्थानीयवासी मिलेर सो क्षेत्रको सुरुआती अन्वेषण गरेपछि क्रमबद्ध रुपमा यहाँ सम्बन्धित सङ्घसंस्था तथा निकायले चट्टान आरोहणको गतिविधि बढ्उँदै गएका संस्थापक अध्यक्ष श्रेष्ठले बताउँछन् । उनका अनुसार पथप्रदर्शक मात्रै नभएर हिमाल आरोहणका लागि पनि पहिलो खुड्किलाका रुपमा प्रशिक्षण लिन यहाँ आउने गर्दछन् ।
“केही दिनको चट्टान आरोहणपश्चात् हिमाल आरोहणमा जाने गरेका छन् । यहाँ चट्टान आरोहणको गतिविधि बिस्तारै बाक्लो बन्दै गएको छ । यसले यहाँको साहसिक पर्यटनको प्रवर्द्धनमा समेत टेवा पुगेको छ”, अध्यक्ष श्रेष्ठले भने । यसको प्रचार–प्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आयआर्जनसँग जोड्न तीनै तहका सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए । रासस
Comments are closed.