पोखरा । पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा त्रिदिवसीय कार्यक्रमसहित ३८ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत पहिलो दिन अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, दोस्रो दिन स्थलगत चित्रकला प्रतियोगिता तथा तेस्रो दिन विविध सांस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरभित्रका १७ विद्यालयको सहभागिता रहेको थियो । ‘कृत्रिम बौद्धिकता : अभिशाप कि वरदान’ विषयक प्रतियोगितामा उपप्राध्यापकत्रय डा. पीताम्बर पौडेल, शिव त्रिपाठी र नारायणप्रसाद सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेका हुन् । प्रतियोगितामा मदरल्यान्ड स्कुलकी स्रष्टा बराल प्रथम, एसओएस स्कुल गण्डकीकी अञ्जु अधिकारी द्वितीय, सेन्ट मेरिज स्कुलकी रिया गुरुङ तृतीय तथा गण्डकी बोर्डिङ स्कुलकी अनुजा गौतमले सान्त्वना स्थान हासिल गरिन् ।
विजयी प्रतियोगीलाई प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका अंग्रेजी विभागका पूर्वप्रमुख घनबहादुर थापा, पोखरा विश्वविद्यालयकी वरिष्ठ प्रशासकीय अधिकृत टोलमाया थापा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
दोस्रो दिनको स्थलगत चित्रकला प्रतियोगितामा पोखरा महानगरपालिकाभित्रका ३० ओटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा वरिष्ठ चित्रकारत्रय बुद्धिबहादुर गुरुङ, गोपाल श्रेष्ठ र लोकप्रसाद गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिर्जनशील कलाकार समूहका अध्यक्ष दलबहादुर गुरुङ, चित्रकार हेमकान्ती गुरुङ लगायतका कलाकारको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा बेसलाइन एकेडेमीकी सोफिया रसाइँली प्रथम, एसओएस गण्डकीकी जेसिका श्रेष्ठ द्वितीय, रेन्बो एकेडेमी होम्सका आदर्श रोका तृतीय तथा कास्की मोर्डनाइज्ड एकेडेमीकी युना आले र सैनिक आवासीय महाविद्यालयकी एरिका केसीले सान्त्वना स्थान हासिल गरे । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिएको छ । प्रमुख अतिथि सरुभक्त श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदी तथा निर्णायकले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।
कार्यक्रमको तेस्रो दिन विविध सांस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण समारोह आयोजना गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दीपप्रज्ज्वलन गरी एसओएसका संस्थापक डा. हर्मन माइनरको तस्बिरमा पुष्पार्पण गरियो । वरिष्ठ गायक रामभक्त जोजिजूको निर्देशनमा विद्यार्थीले वाद्यवादनसहित राष्ट्रिय गान प्रस्तुत गरे । कार्यक्रममा विद्यार्थीको नाट्य समूहले दाइजो र बोक्सी प्रथामा आधारित जनचेतनामूलक नाटक पनि प्रस्तुत गरेका थिए ।
समारोहमा विद्यालयका सहप्राचार्य वीरसिंह बूढाले एसओएस हर्मन माइनरको जन्मदिनका उपलक्ष्यमा विद्यालयले प्रत्येक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी उनको पुण्यकर्मलाई स्मरण गर्दै आइरहेको बताए । समारोहमा विद्यालयका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, पदक तथा पुरस्कार समेत वितरण गरिएको छ ।
समारोहमा एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले अनाथ, असहाय र परित्यक्त बालबालिकाको संरक्षण र शिक्षासँगै एसओएसले राष्ट्रको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए । बालग्रामका संस्थापक हर्मन माइनरको स्मरण गर्दै आचार्यले हर्मन माइनरको पवित्र सेवाभावका कारण आज विश्वमा लाखौँ बालबालिकाले आफ्नो भविष्य उज्ज्वल पार्ने अवसर पाइरहेको बताएका छन् ।
प्रधानाध्यापक चूडामणि सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हो । समारोहमा विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए । एसओएस बालग्रामले सन् १९८७ देखि आफ्नो संस्थाका संस्थापक हर्मन माइनरको जन्मदिन अर्थात् प्रत्येक वर्षको जुन २३ तारिखलाई एसओएस दिवसका रूपमा मनाउँदै आइरहेको छ ।
Comments are closed.