लिट्मस इन्डस्ट्रिजको क्षमता विस्तार गर्न अवसर इक्विटी डाइभर्सिफाइड फण्डमार्फत लगानी सुरक्षित

काठमाडौं । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ ।

परासीमा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा हुनेछ । अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउनेछ । लगानीले कम्पनीलाई नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिवद्धता कायम राख्दै ग्राहकको बढ्दो माग पूरा गर्न सक्षम र सुदृढ बनाउनेछ ।

लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले साझेदारीको बारेमा आफ्नो उत्साह प्रकट गर्दै हाम्रो दूरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम, समर्पणको नतिजा रहेको बताए । यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र ग्राहकलाई गुणस्तरीय वस्तु, सेवा प्रदानका लागि सरोकारवालामा कम्पनीको कुशलता, उत्कृष्टताको छापलाई परिष्कृत बनाउन सक्षम बनाउने उनले जानकारी दिए ।

अवसर इक्विटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र अवसर इक्विटी डाइभर्सिफाइड फण्डका लागि कोष प्रबन्धक ध्रुव तिमिल्सिनाले लिट्मस इन्डस्ट्रिजमा गरेको यो लगानी, आफु संलग्न उद्योगको नेतृत्व गर्न सक्ने र यथास्थितलाई बदल्दै नवप्रवर्तनमार्फत बजारको मागलाई सम्बोधन गर्न सक्ने, उच्च सम्भावना बोकेका अग्रणी कम्पनीलाई सहयोग गर्ने प्रतिबद्धताको एउटा ज्वलन्त उदाहरण रहेको बताएका छन् ।

लिट्मस इन्डष्ट्रिजको बारेमाः
लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी हो । नेपाली तार, केबल तथा कन्डक्टर उत्पादकमध्ये लिट्मस इन्डस्ट्रिज पहिलो र एकमात्र पब्लिक कम्पनी हो । सन् २०१४ देखि रमेश कर्पोरेसनको छातामुनि रहेको लिट्मसले देशको विद्युतीकरण र औद्योगिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाल सरकारद्वारा जलविद्युत विकासका लागि राखेको दूरदृष्टि र कोरेका योजना र प्राथमिकतासँग एकाकार हुँदै लिट्मस इन्डिस्ट्रिजले जलविद्युत प्रसारण र वितरणका लागि चाहिने अन्तर्राष्ट्रिय गुणस्तरका केबल तथा कन्डक्टर उत्पादन र आपूर्ति गर्दै जलविद्युत संरचना विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

अवसर इक्विटी डाइभर्सिफाइड फण्ड बारेमाः
अवसर इक्विटी डाइभर्सिफाइड फण्ड, नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता भएको रु ४.५६ अर्बको क्लोज एन्डेड सेक्टर एग्नोस्टिक निजी इक्विटी फन्ड हो । यो कोषले नेपालको आर्थिक वृद्धि र विकासलाई अघि बढाउने नयाँ र प्रभावकारी परियोजनालाई समर्थन गर्दै उच्च सम्भावना भएका कम्पनीसँग साझेदारी गरी विभिन्न क्षेत्र र कम्पनीमा लगानी गर्दछ ।

 

lcci
You might also like

Comments are closed.